मनसुन क्रमशः क्षीण हुँदै

एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्छ : सचिव विष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताउनुभएको छ  । 

उहाँले निर्वाचन परिणामबाट एमाले दोस्रो ठुलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने बताउनुभयो ।

बुटवलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै सचिव विष्टले सबभन्दा ठुलो दल काँग्रेसले सरकार गठन गर्न सकेन भने मात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औँल्याउँदै तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको बताउनुभयो ।

उहाँले समानुपातिक मत परिणाममा एमाले पहिलो दल बने पनि प्रत्यक्षको परिणामका आधारमा दोस्रो दल बनेकोले आगामी पाँच वर्ष प्रतिपक्षमै रहेर लोकतन्त्र, सामाजिक रूपान्तरण र विकासका मुद्दालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“जनताले एमालेलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट दिएका छन् । त्यसैले सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा हामी छैनौ, सरकार निर्माणका लागि एमालेलाई हतारो छैन । तर, बाध्यात्मक परिस्थिति आयो भने लोकतान्त्रिक मूल्य मान्यताअनुसार नेतृत्व लिन पहल पनि गर्छौँ,”, उहाँले भन्नुभयो   ।

उहाँले यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्त्वपूर्ण सन्देश दिएको पनि बताउनुभयो । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको भन्दै उहाँले मतदातालाई धन्यवाद दिनुभयो ।

उहाँले वाम पार्टीको नामबाट राष्ट्रिय स्वाधीनताको हित विपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने बताउनुभयो ।

सचिव विष्टले चुनावबाट कसैको बहुमत नआएकाले आउँदो पाँच वर्ष मुलुकमा अस्थिरता भइरहने र अर्थतन्त्र सङ्कटमा पर्न सक्ने भन्दै एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने बताउनुभयो । 

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : ४८ बजे