विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो  

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई  २–१ गोल अन्तरले हराउँदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।

क्रोएसियाले खेलको सातौँ मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौँ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक(एक गोलको बराबरीमा ल्याए ।

खेलको ४२औँ मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले  गोल गर्दै फेरि अग्रता दिलाए ।  जुन गोल नै क्रोएसियाको जितका लागि निर्णायक बन्यो । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट  गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । हारसँगै मोरक्को विश्वकपको चौथो स्थानमा रह्यो ।

प्रतियोगिताको फाइनल खेल आज हुनेछ । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै छन् ।

 

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ६ : ५९ बजे