‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सहकारीको ठगी, कारवाही गर्ने कोही छ कि ?

काठमाडौं । पछिल्लो समय सहकारीको कारोबार भनेको सहज बैंकिड्ग जस्तो लाग्छ । निक्षेप जम्मा गर्दा होस् वा कर्जा लिँदा नै किन नहोस् । चाहे ऋण नतिरेकै कारण कालोसूचीमा परेको होस् वा अन्य कुनै वित्तिय बदमासी गरेर बैंकको नजरमा खराव सूचीमा किन नहोस्, कुनै एक वित्तिय संस्थामा बदमासी गर्ने व्यक्ति अन्य जुनसुकै वित्तिय संस्थाका नजरमा उस्तै देखिन्छ । तर, त्यो अवस्था च्याउ सरी खुलेका सहकारीमा हुन्न । बस्, त्यो सहकारीको पदाधिकारीले चाहीँ पत्याइदिनु पर्यो ।
हुनत पछिल्लो समय बैंक, विकाश बैंक, फाइनान्स जस्ता केन्द्रीय बैंकले अनुगमन गर्ने भनिएका वित्तिय संस्थामा पनि लापरवाही नदेखिएको होइन । तैपनि, कारोबारका नाममा केही हदमा भए पनि प्रक्रिया र कागजात पुराउनु पर्ने अवस्था यस्ता खाले वित्तिय संस्थामा देखिन्छ । तर, त्यही कारोबार गर्न सहकारी संस्थाका पदाधिकारीले पत्याइदिए मात्र पुग्ने भएकाले पनि हिजो आज बढी प्रतिशतमा व्याज तिरेरै भए पनि कर्जा लिन सहकारीमै जाने अनी भाग्छ कि भन्ने जाने बुझेरै पनि धेरै प्रतिशत व्याजको लोभमा परेर निक्षेप जम्मा गर्न पुग्नेहरुको संख्या पनि कम छैन ।

यथार्थमा भन्नु पर्दा क वर्गका बैंकले भन्दा ठूलो र धेरै कारोवार गर्ने सहकारी पनि छन् । तर, सहकारी दर्ता गर्ने निकायले नै त्यस्तो बदमासी गर्नेमाथि खबरदारी गर्न सकेको पाइँदैन । सहकारी दर्ता प्रक्रियामा कानून छ, कारोवारमाथि अंकुश लगाउने नियम, उपनियम पनि छन् । तर, पालना भइरहेको छैन ।

ठग्ने पनि यही समाजका र ठगीने पनि समाजकै । निक्षेप फिर्ता गर्न नसकेर समस्यामा परी ठगी प्रकरणमा जेल जाने देखि कारवाहीको दायरामा तानिने सहकारी र त्यसका पदाधिकारीको नाम लेखिसाध्य छैन । यसै क्रममा शुक्रबार एक दैनिक पत्रिकामा ललितपुरको जावलाखेलमा रहेको महिमा बहुउद्देश्यीय सहकारी संस्था लि.ले धितो लिलामी सम्वन्धि एउटा सूचना प्रकाशित गरेको छ । उक्त सूचनामा अन्य सहकारीले भन्दा फरकशैलीले गरेको विज्ञापन आफैँमा शंकाष्पद देखिन्छ ।
एकै धितो राखेर ललितपुरका प्रदिप कुमार गौतम, उनकी श्रीमती दिपा गौतम र विरगन्जका भुसान्त शमशेर जवरालाई ३ करोड बढी कर्जा दिएको देखिन्छ । धितो लिलामीको सूचनामै कसले कति कर्जा लिएको उल्लेख गरी विज्ञापन गरिएको छ । र, पटक पटक ताकेता गर्दा पनि कर्जाको साँवा व्याज नतिरेकैले लिलामीको सूचना प्रकाशित गरीएको जनाइएको छ ।
कर्जा लिलामी सम्वन्धि पत्रिकामा प्रकाशित सूचनामा प्रदिप कुमार गौतमको नाममा दर्ता रहेको ललितपुरको सैवु स्थित ३ आना १ पैसामा बनेको घरजग्गा र उनकै नाममा रहेको विरगन्ज उपमहानगरपालिका १४ स्थित कि.नं. ८० को १४६.४० वर्ग मिटर क्षेत्रफल जग्गामा रहेको घर टहरा समेत धितो राखेर संयुक्त कर्जा दिएको देखिन्छ । कर्जा लिलामी सूचनामै प्रदिप कुमार गौतमले बाँकी कर्जा रकम १ करोड ८६ लाख १५ हजार चार सय एकचालीस, उनकी श्रीमती दिपा गौतमले ९८ लाख ८५ हजार आठ सय सन्तानब्बे कर्जा वापतको ऋण चुक्ता गर्नु पर्ने उल्लेख छ ।

त्यसैगरी, भुसान्त शमशेर जवराले ३२ लाख ४० हजार नौ सय पचपन्न रुपैया कर्जा वापतको रकम तिर्न बाँकी रहेको उल्लेख छ । यो कर्जा सूचनाले यी ऋणीले के कति कर्जा लिएका हुन् ? पटक पटक गरी के कति तिरे वा तिरेकै छैनन् ? त्यो भने प्रष्ट हुन्न ।

ससानो छरीएर रहेको रकम एकत्रित गरी आफ्नै सदस्यबीच निक्षेप र कर्जा सम्वन्धमा कारोवार गर्नु पर्ने उद्देश्यका साथ खुलेका सहकारीलाई करोडौंको कारोबार गर्ने छुट छ ? के यसरी कर्जा उपलब्ध गराउने प्रक्रियामा सहकारीको गल्ती देखिन्न ? धितो छ भन्दैमा जती पनि कर्जा प्रवाह गर्न पाइन्छ ? सहकारी विभागले यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नु पर्दैन । अनी, सम्पत्ति शुद्धीकरण विभागको पनि ध्यानाकर्षण होस्, एकै ऋणीलाई करोडौंको कर्जा उपलब्ध गराउने यो सहकारीको भित्री कारोबार अझै कस्तो छ ? यदी सहकारीले नै बैंक वा वित्तिय संस्थाको भन्दा पनि माथिल्लो तहबाट सहज ढंगबाट कारोबार गर्ने हुन् भने किन नेपाल राष्ट्र् बैंकको भूमिका आवश्यक पर्यो ? अनुगमन के का लागि ? 

जावालाखेलमा प्रधान कार्यालय रहेको महिमा बहुउद्देश्यीय सहकारी संस्था लि.ले कोटेश्वरमा पनि सर्भिस काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त सहकारीमा राजनीतिमा प्रभाव जमाएकाहरुको पनि प्रत्यक्ष,अप्रत्यक्ष संलग्नता देखिएको छ ।
यो त भयो प्रतिनिधि उदाहरण मात्र । यस्ता दर्जनौं सहकारी छन्, करोडौं करोडमा कारोबार गर्ने । त्यस्ता सहकारीमाथि तत्काल अनुसन्धान गरी कारवाही गरी सर्वसाधारणको निक्षेपको सुरक्षा र कर्जा दिने नाममा धितो नै खाइदिने नियत पाल्नेहरुमाथि पनि एक पटक सम्पत्ति शुद्धीकरण विभागले ध्यान जान्थ्यो कि ?

यहीबीच, राजधानीमा च्याउसरी बग्रेल्ती खुलेका सहकारी संस्थाका बिचमा कालीमाटीको महेन्द्र चोकमा रहेको शितल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि महंगो व्याजको लोभ देखाएर थुप्रै निक्षेपकर्तालाई ठगी गरेको पाइएको छ । विभिन्न व्यक्तिका नागरिकता जोडेर सहकारी सञ्चालनमा ल्याए पनि मुख्य हर्ताकर्ता रहेका रामेश्वर महर्जनले निक्षेपकर्ताको रकम भोलीभोली भन्दै फर्काउन आनाकानी गरीरहेको पाइएको छ । सहकारीमा होस् वा व्यक्तिगत कर्जा लिएरै भए पनि आफूले विभिन्न ठाउँमा जग्गा जमिन जोड्ने, व्यापार व्यवसायमा लगानी गर्ने तर निक्षेपकर्ताको रकम ठाडै पचाइदिने नियत उनले पालेको देखिन्छ ।

आफूले १२ वर्षअघि अर्थात् २०६७ फागुन २० गते एक वर्ष अर्थात् २०६८ फागुन १९ गते परिपक्क हुने गरी १७ प्रतिशत व्याज पाउने शर्तमा शितल बचत तथा ऋण सहकारी संस्था लि.मा रु १२ लाख जम्मा गरेको तर आजका दिनसम्म उक्त रकमको न सावाँ, न ब्याजको अवस्था रहेको गुनासो मोहनदेवी महर्जनको छ । उनका अनुसार त्यसरी साँवा न ब्याज हुने थुप्रै रहेको गुनासो उनले गरीन् ।
जहिले आजआज भोलीभोली भन्छ, एकै पटक सक्दीन, थोरैथोरै गरेर दिन्छु भन्छ तर, यतीका वर्ष पुगिसक्दा पनि न साँवा न ब्याज गरिदिँदा आफू औषधी किन्न समेत समस्यामा परेको उनको गुनासो छ । मधुमेह लगायत रोगबाट पिडीत उनले घर बेचेको पैसा उक्त सहकारीमा जम्मा गरेकी हुन् । घरमा पनि त्यही पैसाका कारण बारम्बार झगडा हुने गरेको गुनासो उनको छ । अब कानूनी कारवाहीमै जाने उनले बताइन् । कति कुर्नु कति विश्वासमै पर्नु ? उसको दिने नियत नै देखिन्न । अहिले त सहकारीको कार्यालय समेत बन्द छ । 

मोहनदेवीले भनेजस्तै कालीमाटीको महेन्द्रचोकको सामुन्य एकतलामाथि रहेको शितल बचत तथा ऋण सहकारी संस्था एक वर्ष यता कता छ कता ? कुन अवस्थामा छ ? कसैलाई अत्तोपत्तो छैन । 

त्यसो त चिरीवावु महर्जनको नाती पूर्ण महर्जनको छोरा साविकको सितापाइला गाविस ४ बस्ने ठेगाना भई हाल वाफल बस्ने रामेश्वर महर्जनले व्यापार व्यवसाय गर्ने भन्दै राजेश्वर नामका अर्का एक व्यक्तिसँग २०७२ माघ १३ गते घरायसी तमसुक गरी लिएको २० लाख पनि आजका दिनसम्म फिर्ता गरेका छैनन् । बढीमा एक वर्षभित्र सावाँ व्याजसहित रकम फिर्ता गर्ने भन्दै घरायसी कागज गरी ऋण लिएका उनै सहकारी सञ्चालक रामेश्वर महर्जनले आफ्नो रकम फिर्ता नगर्दा राजेश्वर पनि उसैको खोजीमा डुलिरहेका छन् । उनले पनि रकम फिर्ता गराउन मुद्दामामिलामा जाने तयारीमा रहेको गुनासो सुनाए ।
यी त प्रतिनिधि घट्ना मात्र हुन् रामेश्वर महर्जनले ठगी गरेका प्रकरणको सन्दर्भमा । यस्ता सयौं ठगी प्रकरणबाट भाग्दै हिँडेका रामेश्वर माथि कस्तो कानूनी कारवाही होला ? प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ५ : ४० बजे