संघीयसभा र प्रदेशसभा निर्माणका लागि सम्पन्न चुनाव २०७९ को परिणाम सार्वजनिक भइसकेको छ । अनपेक्षित परिणाम र राष्ट्रिय राजनीतिमा यसले सिर्जना गर्न सक्ने गम्भीर असर र प्रभावबारे आन्तरिक पार्टी, अन्तर पार्टी र बाह्य सरोकार क्षेत्रमा समेत चर्चा चुलिन थालेको छ । सरकार गठन र गठन कर्ताबीच निर्दिष्ट कार्ययोजनाका साथ सञ्चालनका सन्दर्भ रणनीतिक परस्पर संवाद समेत आरम्भ भएको छ ।
निर्वाचन आयोगले सम्पन्न निर्वाचनसम्बन्धी सम्पूर्ण फेहरिस्त सहित जारी गरेको दस्ताबेज र सार्वजनिक गरेको प्रतिवेदनका अनुसार यस पटक खसेको मत प्रतिशत ह्रासोन्मुख छ । प्रत्यक्षतर्फ ६१ प्रतिशत मात्र मतदान भएको विवरण सार्वजनिक भएसँगै समानुपातिकतर्फ एक करोड ९ लाख मतदाताले मत खसेको स्पष्ट छ । यो खसेको मतको जगमा उभिएर दलीय शक्ति, गैर दलीय व्यक्ति र सरोकारवालाबीच सरकार गठनसम्बन्धी रस्साकस्सी भएको देखिन्छ ।
अनपेक्षित पक्ष
बहुदलीय प्रजातन्त्र प्राप्तिपछिका पछिल्ला दिनहरूमा राज्यले दर्जनौँ निर्वाचन आयोजन गरेको छ । अपेक्षाकृत यस पटकको निर्वाचनमा मतदाता मतदानमा किन सामेल भएनन् ? मतदान गर्न किन रुचाएनन् ? मतदानका लागि मतदाता किन तयार छैनन् ? मतदान स्थल, केन्द्र वरिपरि दर्शक भएर बस्ने मतदाता स्वयं किन मतदान गर्दैन ? आदि यक्ष प्रश्नको यथेष्ट उत्तर दलीय व्यवस्थाप्रति जिम्मेवार दलहरूले खोज्नुपर्छ ।
नेपालको सङ्गठित बाम प्रजातान्त्रिक आन्दोलन राजनीतिक–वैचारिक रूपले सङ्कटमा पर्न लागेको बेला यसलाई त्राण हाल्ने र मूलधारमा उभ्याउन सक्ने सामर्थ्य राख्ने नेकपा (एमाले) र यसका अध्यक्ष राजनेता केपी शर्मा ओली नेतृत्वको नेपालको वामपन्थी एवम् कम्युनिष्ट आन्दोलनका उत्तराधिकारीहरूलाई खोजी–खोजी, छानी–छानी हराउने काम गरियो, यो झन् साङ्घातिक प्रकृतिको हमलामा आधारित छ । अहिले यो साउतीको सारमा छ, सुषुप्त छ तर समय क्रममा खुल्ने छ । जसलाई कम्युनिष्ट आन्दोलनको भविष्यको रूपमा हेरियो, उहाँहरूलाई खोजी–खोजी र छानी–छानी हराउने कुराले दूरगामी अर्थ राख्छ भन्ने विषयप्रति पनि उत्तिकै गम्भीर हुन जरुरी छ ।
एमालेविरुद्ध पर्दामा गठबन्धन थियो तर पर्दाभित्र गठबन्धन मात्र थिएन, ठगहरूको मिलेमतोमा देशी–विदेशी शक्तिले अड्डा जमाएर चौतर्फी घेराबन्दी गरेका थिए । एक अर्को ढङ्गले भन्नुपर्दा एमालेविरुद्ध गठबन्धनका पक्षमा सामरिक समीकरण बनेको थियो । चुनावलाई मनोवैज्ञानिक हिसाबले आफ्नो प्रभावमा पार्न अनेकौँ हतकण्डा अपनाइएका थिए । यसका बाबजुद एमालेको पक्षमा जनताको दृढ जनमत जुन जाँगर, उत्साह र आत्मविश्वासका साथ खसेको छ, त्यो निकै प्रेरणास्पद, गर्विलो र कालजयी छ ।
अनपेक्षित बाटो
दलीय व्यवस्थामा गठबन्धनभन्दा पनि परस्पर दलीय प्रतिस्पर्धा नै यसको सुन्दर पक्ष हो । लामो समयसम्म यो अभ्यस्त रह्यो । तथापि, पछिल्लो बेलामा आएर सामान्य अन्तरविरोधका कारण छरिएका राजनीतिक दलबलहरू राष्ट्रिय राजनीति दुई धारमा डोलिएको थियो । असरल्ल राजनीतिक अस्तित्वहरू एक ठाउँमा उभिने स्थिति विकास भइरहेको थियो । नेकपा (एमाले) नेतृत्वको राष्ट्रवादी कम्युनिष्ट क्रान्तिकारी धार र नेपाली काँग्रेस नेतृत्वको सत्ता अवसरवादी गठबन्धन धार । जनमतले यसलाई अनुमोदन गरेन । जनमतले कुनै एउटा धारलाई मात्र मतदान गर्न सकेको भए राष्ट्रिय राजनीति ठहरावको अवस्थाबाट गुज्रने थियो । अस्थिरता र अस्थायित्व निस्तेज हुने थियो । यसबाट अनावश्यक चलखेल नामेट हुने थियो । समृद्धि हासिल गर्ने हाम्रो अठोटप्रतिको गिद्देनजर यस पटक गिर्ने थियो । सङ्घीयता कार्यान्वयन सँगसँगै एउटा पूरा कार्यकालभर कुनै एउटा सत्तासीन शक्तिको राजनीतिक विवेक र उच्चतम योग्यता–क्षमताका आधारमा विकास–निर्माणको कामले स्पेस पाउने थियो । दलीय योग्यता–क्षमताको परीक्षा हुने थियो । अर्को पटक कुन पास हुने र कुन फेल हुने ? स्थिति यकिन हुने थियो । जनमतले पास फेलको अन्तिम टुङ्गो लगाउने थिए । यो भएन । बरु भयो त ठिक उल्टो भयो !
आज प्रयोगमा आएको दलीय व्यवस्था प्राप्ति गर्नमा कुनै योगदान नगरेका र यो दलीय व्यवस्थाप्रति कत्ति पनि जिम्मेवार नभएका काँचा कचिला र उत्ताउला शक्तिलाई उघ्रिन सक्ने आधार तयार भयो । न भूतो न भविष्यति भने झैँ नेपाली राजनीतिमा केही शक्तिको उदय भएको छ । यिनको राजनीतिक संस्कार अभावको अभद्र सक्रियताले मुलुक अब कसरी अगाडि बढ्ने हो ? शंकामात्र होइन, प्रश्न जन्माएको छ । एकातिर हाहा होहो र ड्याङ डुङ्गले हामीलाई तर्साइरहने भयो भने अर्कोतिर अदृश्य शक्तिको छर्लङ्ग अनुभूतियोग्य सक्रिय उपस्थितिले हामीलाई हाम्रो सातो लिने हो कि भनेर झस्काइरहने भयो !
युवापन र युवामान दिन आएको शक्तिसामु राष्ट्रिय राजनीतिकमा अदृश्य शक्तिको चलखेल तीव्र तर छ । महाकाली नदी कटानको क्षेत्र नियन्त्रण, कैदी बन्दी रिहाइदेखि लिएर थ्रेसहोल्ड खारेजीको मुद्दा उठिरहँदा पनि बाल्टीमा भरिएको तरङ्गरहित शान्त स्वभावको पानीजस्तो प्रतिक्रियाविहीन शान्त देखिने कुराले नवोदित शक्तिको उद्देश्य र गन्तव्य पनि छर्लङसँग अध्ययन गर्न सकिन्छ । घण्टी कहिले बज्ने ? कसले बजाउने ? लट्ठी कहिले टेक्ने ? कसले समाउने ? यसको छनक देखिँदै आएको छ ।
मुद्दा र मैदान
हाम्रो अध्यक्षले पटक पटक भन्नुभयो– ‘पार्टीविरुद्ध चौतर्फी घेराबन्दी छ, सङ्गठित मोर्चा बन्दी छ, पार्टीसामु चुनौतीको विराट चाङ छ, यति भए पनि राम्रोसँग लाग्दा एमाले पहिलो शक्ति हुन्छ ।’ वस्तुतः यो नै एमालेको चुनावी राजनीति थियो, चुनाव जित्न रणनीतिक तयारीका लागि मार्गदर्शन थियो र योजनाबद्ध अग्रसरताका लागि निर्देशन थियो । यसको राजनीतिक विषयवस्तुको सारभूत पक्षलाई अधिकांश नेतृत्वले बोक्न सकेन । कतिपय जिम्मेवारहरू नै चुनावी मुद्दाबाट ओझेल पर्दै व्यक्तिगत कुण्ठा, पदा शक्ति र महत्त्वाकाङ्क्षामा चुलिएर पार्टीको राजनीतिक–वैचारिक लडाइँको मैदानमा विरोधी विपक्षी भएर उत्रिए, उभिए ।
राष्ट्रिय राजनीतिमा एमालेको उपस्थिति राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलनसँग जोडिएको थियो । छिमेकी नाउँको दादागिरीलाई राम्रोसँग बुझेका र यसलाई असह्य ठानेका शक्तिले एमालेलाई सघाएका थिए, सहकार्य गरेका थिए, तालमेल थियो । चुनाव मैदान जान लालायित नेतृत्व, प्रतिस्पर्धामा जान सक्षम व्यक्ति र उम्मेदवारी प्राप्तिको महत्त्वाकाङ्क्षा राख्ने आकाङ्क्षीले यसलाई धैर्यतापूर्वक लिन सकेनन् । राजनीतिक लडाइँमा व्यक्तिको भूमिका गौण पनि हुन्छ भनेर आफूलाई यस पटक र एक पटक सम्हाल्न सकेन ।
तालमेलअनुरूप तयार गरिएको सिट बाँडफाँटको सैद्धान्तिक आधारमाथि तहगत हिसाबले कतिपय कार्यकर्ताले यसलाई राजनीतिक मूल्यसहित बुझ्न, तदनुरूप भूमिकामा टिक्न र यसलाई सहजै ग्रहण गर्न सकेनन् । बरु राजनीतिक शक्ति सन्तुलनको आधारमा सिट बाँडफाँट गर्ने सहमति जुटेसँगै कतिपयले पार्टीविरुद्ध जथाभाबी बोल्ने, पत्रकार सम्मेलन गर्ने, पार्टी परित्याग गर्ने, बागी उम्मेदवारी दिने र प्रत्यक्ष वा परोक्ष ढङ्गले प्रतिस्पर्धाको मैदानमा उत्रिएकालाई भरमग्दुर सघाउने काम गर्दै आए । यसले पनि हामीलाई अन्तर पार्टी कमिटीगत जीवनमा गम्भीर समीक्षाको तहमा ओर्लिन बाध्य बनाएको छ ।
मनोविज्ञान
संघीयसभा र प्रदेशसभा निर्माणको लागि दोस्रो चरणको चुनावको मिति घोषणा हुने तयारीसँगै राजनीति दलहरू यसको तयारीमा जुट्नु स्वाभाविक थियो । चुनावी सरकारको भूमिकामा रहेका सत्तासीन ५ दल गठबन्धन गरेर चुनावी मैदानमा एक स्वरका साथ होमिएका थिए । सरकारको एक मात्र प्रमुख विपक्षी हाम्रो दल नेकपा (एमाले) मूलतः एक्लै चुनावी मैदानमा थियो । अदालतको परमादेशद्वारा गठित सरकार आफ्नो दैनन्दिनको कामप्रति सजगता लिनु र सरोकार राख्नुभन्दा पनि सर्वोच्चमा मुद्दा हालेर विपक्ष बनाइएको एमालेको राजनीतिक मुद्दामार्फत आकर्षित पार्टी प्रवेशको अस्वाभाविक लहरबाट सशङ्कित थियो । यसबीचमा कतिपय शक्तिहरूले कहीँ घण्टी तयार गरिदिए, कहीँ लट्ठी त कहीँ हिन्दुवादी स्पर्श दिन बाछी, नभए पनि गाछी नाउँको एकाएक नारा पुकारा गराइदिए ।
यसबीचमा नवप्रवेशीलाई एमालेले जिम्मेवारी दिन नसक्नु र मत वृद्धिका लागि छुटेका मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदाताको नाम समावेश गर्न अभियान सरकार पक्षीय शक्तिले तीव्र ढङ्गले सञ्चालन गर्नुले एमाले कमजोर हुन पुग्यो । हाम्रो पार्टी नेकपा (एमाले) ले उठाएको राजनीतिक स्थिरताका लागि स्थायी सरकार निर्माणको कार्यनीतिक नारालाई पनि कम्युनिष्ट बहुमत सहितको सरकार र प्रतिनिधिसभा विघटन गर्ने एमाले नेतृत्व भनेर अराजनीतिक तर्क कुतर्कको खेती गरेर जनमतलाई प्रभावित तुल्याउनेभन्दा पनि मनोवैज्ञानिक हिसाबकिताबको पृष्ठभूमि निर्माण गर्दै जादुगर ढङ्गले अलमल्याउने काम भयो । अन्ततः कमजोर जनमतसमक्ष एमालेले अविराम ढङ्गले उठाएको राष्ट्रियता मुद्दा, जनजीविका र सामाजिक सुरक्षासम्बन्धी सुधारोन्मुख काम, एमसीसी, चुच्चे नक्सा सार्वजनिक जस्ता महत्त्वपूर्ण राजनीतिक विषयवस्तुहरू पनि गम्भीर ओझेलमा परे ।
मूलभूत रूपमा यसबीचमा हाम्रो पार्टी नेकपा (एमाले) ले जीवन मरणको सङ्घर्षको रूपमा उठाएको र स्थापित गरेको राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अर्थतन्त्रको निर्माण, सन्तुलित वैदेशिक सम्बन्ध, समाजवाद उन्मुख देशको आधारभूत विकासको प्रक्रिया, समृद्ध नेपाल : सुखी नेपाली निर्माणको राष्ट्रिय आकाङ्क्षाको पूर्णता सँगसँगै नेपाली विशेषताअनुरूपको समाजवाद निर्माणको कार्यक्रम, जनताको बहुदलीय जनवादको राजनीतिक–वैचारिक दिशानिर्देशका पक्षमा जनमत किन अलमलियो ? दृढ विश्वासी, स्वतःस्फूर्त चलायमान र सबैलाई जिम्मेवार बनाउनुपर्छ ।
उपसंहार
हाम्रो स्थापित मुद्दाहरू किन ओझेलमा परे ? युवा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको पक्षपोषण गर्दै आएको एमाले प्रतिस्पर्धाको मैदानमा किन कमजोर देखियो ? ऐन मौकामा युवा पङ्क्ति किन आकर्षित हुन सकेन ? कुहिरो चिरेर कावा खोज्न सक्ने कागजस्तो सामर्थ्य भएको हाम्रो शक्ति किन टिक्न सकेन ? जनताको बहुदलीय जनवाद निर्देशित, दीक्षित र प्रशिक्षित राजनीतिक व्यक्तित्वलाई उम्मेदवार बनाइयो नै । तर त्यो उम्मेदवारको रूपमा अघि सारिएको व्यक्ति, सूर्य चिन्ह ध्वजा बाहक शक्ति समानुपातिकतर्फ सूर्य चिन्हमै मतदान गर्ने जनमतसामु किन बिक्न सकेन ? गम्भीर समीक्षा सहित भावी रणनीतिक योजना बन्नु र बनाउनु जरुरी छ । फेरिएको जनमत, फेरिएका अपेक्षा र फेरबदलपछि प्राप्त वस्तुस्थितिका आधारमा समग्र पार्टी र पार्टीको राजनीतिक–वैचारिक सङ्गठनात्मक जीवनलाई जनताको दुःखसुखको साथी, उन्नति–प्रगतिको सहयात्री र समुदायको बृहत्तर हकहितको सारथि कसरी बनाउने ? अविलम्ब गृहकार्य आरम्भ गर्न जरुरी छ ।
राजनीतिक मुद्दाका हिसाबले एमालेले चुनाव जितेको छ । एक्ला एक्लै एमालेसँग लड्न सक्ने तागत अरू कसैमा छैन भन्ने मूल्य जबरजस्त कायम भएको छ । समाजमा एमालेको नेतृत्वले गरेका राम्रा र हाम्रा मुख्य कामको पुँजीकृत ढङ्गले प्रचारप्रसार गर्न नसक्दा र योजनाबद्ध रणनीतिक तयारी अभावमा चुनावको अङ्कगणितमा एमाले अलिपछि परेको मात्र हो । अब यसलाई जित्ने औसरको रूपमा ग्रहण गर्न सक्दा मात्र उद्देश्य हासिल गर्न सकिन्छ ।
प्रकाशित मिति : २ पुस २०७९, शनिबार १ : ०६ बजे
प्रतिक्रिया