नेपाल–भारतबीच संयुक्त सैन्य अभ्यास सुरु

​​​​​​​काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।

आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्रल स्कूलमा नेपाल–इन्डिया बटालियन लेभल जोइन्ट ट्रेनिङ एक्सर्साइज ‘सूर्य किरण–सोह्रौँ’ सुरु भएको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथि यामप्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच संयुक्त सैन्य अभ्यासको शुभारम्भ गर्नु भएको थियो ।

संयुक्त अभ्यासको १६ संस्करणमा विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको छ । संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन गरिएको छ . संयुक्त अभ्यास पुस १-४ गते संचालनमा हुनेछ ।

विसं २०६७ देखि नेपाल र भारतमा वार्षिकरुपमा आलोपालो गरी सञ्चालन हुँदै आएको संयुक्त अभ्यास सफलतापूर्वक सञ्चालन हुँदै आएको छ ।

यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढा बनाउने तथा दुवै देशका सेनाहरुबीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  २ : २७ बजे