सर्लाही । सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ ।
यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो ।
दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पहारिलो घाम लाग्ने गरेको थियो । तर बुधवारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ ।
चिसो बढेपछि बालबालिका, वृद्ध वृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन् । छाप्रामा बस्ने अति विपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन् ।
चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीयवासी रामवली रायले बताउनुभयो । चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन् ।
चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ । कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ ।
बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँले आगो बालेर ताप्न थालेको र पशु चौपायालाई पराल ओछ्याउने, बोरा ओढाउनेलगायत काम गर्न थालेका स्थानीयवासी विनय महतोले बताउनुभयो । चिसो बढिसकेकाले स्वास्थ्यको विशेष ख्याल गर्न प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख सुदीप काफ्लेले सुझाव दिनुभयो । उहाँका अनुसार यो बेला झोलिलो र तातो खानेकुरा प्रशस्त खान, न्यानो कपडा लगाउन सुझाव दिनुभयो ।
चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा सङ्क्रमण हुने, रुघाखोकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सक काफ्लेले सुझाव दिनुभयो ।
प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार १० : ५० बजे
प्रतिक्रिया