मनसुन क्रमशः क्षीण हुँदै

एमालेले पुस ५ गते राजधानीमा विशेष कार्यक्रम गर्ने 

काठमाडौँ । नेकपा एमालेले पुस ५ गते राजधानीमा विशेष कार्यक्रम गर्ने भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई निर्वाचन परिणाम आइसकेको सन्दर्भमा आगामी पुस ५ गते राजधानीमा ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्नुहुने कार्यक्रम रहेको एमालेले जनाएको छ । 

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ जना र प्रदेशसभामा १६१ जना सदस्य निर्वाचित भएका छन् । 

कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेशसभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रियसभाका बहालवाला सदस्यहरू, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसङ्गठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसङ्गठनका थप तीन जना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : १५ बजे