बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु

बेदकोट । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । 

आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकल यात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगरबाट दार्चुला  गइरहेको बसले ठक्कर दिएको हो । 

बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए ।

घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।रासस 

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : ०० बजे