पर्यटकीय स्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन

सिन्धुपाल्चोक । पर्यटकीय स्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ । 

कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामङले बताउनुभयो ।

‘पर्यटन प्रवर्द्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ गत मङ्गलवारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको संस्कृति पर्यटन प्रवर्द्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिनुभयो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, न्यूभिजन नेपालको सह आयोजना तथा आर्सो नेपाल र टिजी एच नेपालको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो  ।

पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नै पर्ने पर्यटकीय स्थलहरूको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । 

जनै पूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लास्टिक, बोतललगायत अन्य सामग्रीको जथाभाबी प्रयोगले वातावरण बिग्रने हुनाले सरसफाइ अभियान सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ०० बजे