मनसुन क्रमशः क्षीण हुँदै

माओवादीले कर्णाली प्रदेशसभाका लागि छानेका चार जना महिला सबै नेताका श्रीमती मात्रै

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाका लागि छानेका चार जना महिला सबै नेताका आफन्त छन् । 

माओवादीले प्रदेश प्रदेशसभा सदस्य बनाएकी उर्मिला विक नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुनुहुन्छ । 

यस्तै, पार्टीको कालिकोट संयोजक रहनुभएका लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेशसभा सदस्य बन्नुभएको छ । मिलन खड्का रोका रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका (सचिन)की श्रीमती हुनुहुन्छ भने जुम्कित लामा कार्की हुम्लाको सर्केगाड गाउँपालिकाका माओवादी अध्यक्ष चन्द्रबहादुर कार्कीका श्रीमती हुनुहुन्छ। चन्द्रबहादुर गाउँपालिका उपाध्यक्ष समेत हुनुहुन्छ ।

जनयुद्धका घाइते, अपाङ्ग, शहीद परिवार तथा लामो समयसम्म योगदान गरेकाभन्दा पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक प्रदेशसभा सदस्य बनाइएपछि कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका दुई जना पनि कर्णालीका नेताकै आफन्त छन् । 

उपमहासचिव शक्तिबहादुर बस्नेतकी बहिनी ज्ञानु बस्नेत सुवेदी (चितवन) र उपमहासचिव जनार्दन शर्माकी बहिनी नारायणी शर्मा (दाङ) समानुपातिक सांसद हुनुभएको छ  । समानुपातिक सूचीमा रहनुभएका जाजरकोटकी पार्वती विकलाई समानुपातिकबाट हटाएर ज्ञानुलाई समावेश गरिएको चर्चा छ । 

प्रतिनिधिसभामामा समानुपातिकमा सिफारिस हुनुभएकी सुर्खेतकी हरिमाया शर्माले पनि सांसद बन्न नपाएपछि असन्तुष्टि जनाउनुभएको छ । प्रदेशसभातर्फ जाजरकोट खाली भएको छ । जहाँबाट पनि आफू सुरक्षित भए पुग्ने अवस्था आएपछि शक्ति बस्नेतले जाजरकोटको पार्टीभन्दा कांग्रेसलाई प्यारो मानेको चर्चा चुलिँदै गएको छ । 

जिल्लाका नेता कार्यकर्तालाई कहिले पनि संरक्षण नगर्ने तर ठुला नेताका सिफारिस कार्यान्वयन गर्ने शक्ति बस्नेतको तरिकाले जाजरकोटमा माओवादी कमजोर हुँदै गएको छ । बस्नेतप्रति जाजरकोट माओवादी निकट अधिकांश नेता कार्यकर्ता रुष्ट बनेका छन् । 

त्यस्तै बिहीबार नेकपा (माओवादी केन्द्र)कर्णाली प्रदेशले केन्द्रमा पठाएको पत्र समेत केही सीमित व्यक्ति बसेर तयार गरी पठाएको आरोप लागेको छ । 

प्रदेश अध्यक्ष विमला केसीले एक्लै पत्र तयार गरी कर्णाली प्रदेशको बैठकको निर्णय भनी झुटको खेती गरेको अन्य केन्द्रीय सदस्य तथा प्रदेश समितिका सदस्यले आरोप लगाएका छन् ।

 

 

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ८ : ३५ बजे