गभ्मीर अपराधमा संलग्नलाई रिहा गर्न ल्याइएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीसहित गभ्मीर अपराधमा संलग्न विभिन्न दलका कार्यकर्तालाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। 

रुपन्देहीको कञ्चन गाउँपालिका ३ बस्ने अधिवक्ता कपिलदेव ढकालसहितले उक्त विवादित अध्यादेशलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाउँदै रिट हालेका हुन्। 

‘…नेपाल सरकार मन्त्रिपरिषदको उक्त निर्णयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ को उपदफा (८) पछि उपदफा (९) थप गरि जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेश उत्प्रेषणको आदेशले बदर गरि उक्त अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी हुने सम्भावना भएकोले उक्त अध्यादेश जारी नगर्नु भनी राष्ट्रपति कार्यालयको नाममा प्रतिषेध समेतको आदेश जारी गरिपाऊँ’, रिटमा भनिएको छ।

सरकारले रेशमसहितका टीकापुर घटनाका दोषी, सीके राउत कार्यकर्ता र नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तालाई रिहा गर्ने बाटो खोल्न उक्त अध्यादेश ल्याएको छ। 

भविष्यमा नजिर नहुने गरी विगतमा राजनीतिक आन्दोलनमा जोडिएका दलका कार्यकर्तालाई छाड्न भन्दै सरकारले ल्याएको अध्यादेश अहिले राष्ट्रपतिको कार्यालयमा विचाराधीन छ। 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ६ : ०५ बजे