थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय

काठमाडौं। मधेसी आयोगले थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ ।

आयोगको मसिंर २० गतेको बैठकबाट यसबारे निर्णय गरेको हो । मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय भएको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले जानकारी दिनुभयो ।

यसअघि मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीमा राखेर राष्ट्रपतिलाई सिफारिससहितको प्रतिवेदन बुझाएपछि विरोध भएको थियो । सो निर्णय कार्यान्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउनु भएको छ ।

थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको भन्दै मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न आयोगमा निवेदन दिएका थिए ।  दत्तका अनुसार सो निवेदनमाथि आयोगले निर्णय लिँदै सूचीबाट हटाउने निर्णय भएको हो । 

मधेशी आयोगले २०७८/७९ को बार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : ४५ बजे