आशा, अपेक्षा, बितृष्णा सबै बेकेर आएको यो चुनावको परिणामले अब के दिने भयो त ? एक किसिमले अलोकतान्त्रिक गठबन्धन र घेराबन्दीका बीच सम्पन्न यो चुनावी परिणाम ‘जायज जनमत’ नभएकाले खासै उत्साहजनक केलाएर समीक्षा गर्ने जाँगर नआए पनि २८ वर्षपछि प्रत्यक्ष रुपमा सहभागी भएर, मतदान गर्न पाउनु मेरालागि खुसीको क्षण थियो । चुनावी अभियानका अनुभव, परिणाम पछिको केही आफ्ना विचार राख्ने जमर्को गरेको छु ।
‘नेपालीको इतिहास भाग्यले होइन कर्मले लेख्नुपर्छ ।’ यसो भनिंरहँदा भाग्य वादको प्रश्रय लिँदै ज्योतिषीले सातपटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका थिए । देउवा दाइ ज्योतिषीको भरमा कम्मर कस्सिएर विपरीत ध्रुवका राजनीतिक प्रणालीहरू समेटेर, अदालतको आडमा सरकार बनाएर २०७९ मंसिर ४ को निर्वाचन गर्न सफल रहनुभएको छ । विभिन्न शक्तिकेन्द्रको आडमा भएजति भाग्य आफ्नो पोल्टामा पार्न सफल सम्मानीय प्रधानमन्त्री शेरबहादुर दाइलाई हार्दिक बधाई । सिद्धान्त गोली मार्दै समाहित गठबन्धनको टिमलाई पनि हार्दिक बधाई ।
‘हङ्ग पार्लियामेन्ट’ बनाउने सपना देउवा-प्रचण्ड-माधव कम्पनीले पूरा गरेका छन् । यही परिणामले नै पुष्टि गर्दैन र संघीयता नेपालमा घाँडो हो भनेर उठाइएको प्रश्नलाई ? तर यसमा मेरो ब्यक्तिगत मत अर्कै छ । संघीयता घाँडो हैन यदि चलाउन जानियो भने ।
वैदेशिक ऋण र राजस्वले मात्र सबै जनप्रतिनिधिहरू पाल्ने र झगडा हल्ला गरेर बस्ने हो भने संघीयता घाँडो नै हुन्छ । तर थोरै धैर्य गरौँ अब त नेताहरूले चेते कि घण्टी बजाएर । अन्तिम अवसर सैद्धान्तिक धारको आधारमा एकता अनि सबैसँग स्वच्छ प्रतिस्पर्धा गरेर सामूहिक नेतृत्वमा जाने एक विकल्प बाँकी छ ।
प्रजातन्त्र लोकतन्त्र छिन्न बन्दै छ । स्थायी सरकार पाँच बर्ष यो कामना पनि अधुरो रह्यो ।
विदेशमा रहेर नेपाल देख्दा आजकल भइरहने छटपट फर्केर हेर्दा स्वतन्त्रहरू मौलाउनु कुनै छक्क पर्ने कुरा रहेन । जनता देशको राजनीतिक वातावरणप्रति सन्तुष्ट छैनन् । समाजमा पार्टीहरू नेताहरूसँग व्यापक असन्तुष्टि छ । यसका बाबजुद पनि पुरानै पार्टी प्रतिको विश्वास पनि त छ ।
म आफैँ पनि २०४८, ०५१ को चुनावपछि प्रत्यक्ष २०७९ को चुनावमा जोडिन पुग्दा २८ वर्ष भैसकेको रहेछ । २०५४ सालमा आफ्नो देश छोडेपछि आजसम्म यस अन्तरालमा के परिवर्तन उतारचढाव भयो सबैको मनसपटलमा ताजै छ ।
त्यो हो– सधैँ अस्थिरता, युद्ध, आतङ्क, झगडा मात्रै बढी देख्न पाइयो । केही विकास नभएको भन्नु गलत भए पनि हुनुपर्ने त पक्कै नभएकै हो । सुकुम्वासीहरू हुकुमबासी बनेर भोट बैङ्क बनाएर कमाउ धन्दामा लागेका रहेछन् । लाखौँ करोडौँको महलमा बस्ने सुकमबासी रे ?
सुकुम्वासीको नाममा राजनीति बढी भयो । यसको अर्थ यो हैन कि वास्तविक सुकुम्वासी जो १०० वर्षदेखि पुर्ख्यौली बसाइ छ तर लालपूर्जा छैन । सत्य तथ्य जाँच गरेर सुकुमबासी व्यवस्थापन गराउन पर्छ । देशमा लोकतन्त्र छ तर सुकुमबासीको नाममा भाला खुकुरी आदि लिएर आउन पर्ने कस्तो सुकुम्वासी हुन् ? जाँच गरेर सुकुमबासी समस्या सदाका लागि अन्त्य गरौँ ।
धेरै टाढा नगई थोरै निकटको इतिहास कोट्याउँदै लेख अगाडि बढाउँछु । सुरूमा २०४८ को बहुमत आन्तरिक कारण गिरिजाप्रसाद कोइरालाले आफैँ भत्काएपछि ठूलो दलमा उदाएको एमालेले अल्पमतको सरकार बनायो । अत्यन्त लोकप्रिय बन्दै गएको बेला एक्कासी ९ महिनामा ढालियो एमाले सरकार ।
त्यसपछिदेखि देशैभर खैलाबैला हुने राजनीतिक अस्थिरता भित्रियो । यसका नाइके शेरवहादुर हुन् । उनका गुरू गिरीजाप्रसाद नै थिए भन्नु अत्युक्ति नहोला । त्यसपछि त्यस्तो प्रवृत्ति एमालेमा पनि पस्यो । दुबै पार्टी फुटे । पछि वाम एकता बनेर दुई तिहाइ नेकपाको सरकार बन्यो । तीन वर्ष पनि नटिक्दै तीन चिरा भयो । देशका ठूला पार्टी एमाले, काङ्ग्रेस, माओवादी फुट्दा देशले, प्रजातन्त्रले दुःख पाइरहेको सत्य हो । त्यसको प्रत्यक्ष मारमा पर्ने जनता हुने नै भए ।
२०५५ मा माओवादी ‘लोकतान्त्रिक गण्तन्त्रको नाइके’ बनेर निस्कियो । सैद्धान्तिक रूपमा एमाले नजिक रहेर पनि ब्यावहारिक रूपमा प्रायः एमालेको एउटा धारलाई प्रमुख दुश्मनको रूपमा देखिरहने माओवादी आज फेरि हिजो कुनै बेला प्रचण्डको टाउको काट्ने आदेश दिएका देउवासँग घाँटी जोडेर आफ्नो सकिन लागेको अस्तित्व जोगाइदिन भिख माग्दै चुनावमा होमिए । अब सबैको चुनावी परिणाम आइसकेको छ ।
जित कसैको पनि भएन । देशले हार्यो, पार्टीहरूले हारे । माओवादीको अस्तित्व यसै त आधा भैसकेको थियो यसपालि त झन् आधाको पनि आधा बनाइदिएर जनताले सजाय दिए । हेरौँ यसपछि प्रचण्डको ‘डाइनामिक वाद’ ले कस्तो गतिविधि गर्ने हो । आशा छ, आफ्नो अस्तित्व, शक्तिको लेखाजोखाको राम्रै हेक्का भएको हुनुपर्दछ । म पटक्कै प्रचण्डविरोधी हैन तर हिंसाको भने सधैँ विरोधी हुँ र सधैँ विरोधी नै रहनेछु ।
नियतिले भनौँ वा कर्मको खेल जे भनौँ, चारैतिरको घेराबन्दीमा पारेर सक्न खोजिएको एमाले समानुपातिक जनमतमा पहिलो पार्टी बनेको छ । एमालेको जीत नभए पनि जबरजस्त घेराबन्दी तोडेर आफूलाई जोगाउन भने सफल भएको छ ।
आफ्नै आन्तरिक व्यवस्था मिलाउन नसक्दा, कतिपय उनकै समूहका युवा नेताहरूलाई कार्यकर्ताहरूलाई राजनीतिक संस्कार सिकाउन नसक्दा, राजनीतिमा फरक पार्टीका, फरक विचारका प्रतिस्पर्धीहरूलाई कसरी सम्बोधन गर्ने भन्ने नजान्दा पनि कतिपय उमेदवाहरूलाई जनताले अस्वीका गरे । यसको असर एमाले पार्टीलाई परेको देखिएको हो कि ? नेतृत्व तहमा एमालेमा बिबाद अव नरहे पनि अब घात–अन्तर्घातको रोग एमालेको कार्यकर्ता तहमा पुगेको छ । र, यो अत्यन्त घातक छ । यो समस्याको समाधान गर्न जरूरी छ । नत्र भोलिको दिन पनि सुखद हुनेवाला छैन । कम्तीमा इतिहासबाट सिक्नुपर्छ ।
उता, नयाँ शक्तिको राप तापमा एक्कासी घण्टी उदाएको छ । अबका दिनहरू पनि झन् थप ब्यापक ध्रुवीकरण देशका लागि सहज दैखिँदैन । सबैतिरको असन्तुष्टि पार्टीगत असन्तुष्ट मत, पुराना पार्टीबाट वाक्कदिक्क भएका स्वतन्त्र जनमतले घण्टी रोजे ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी नपुग्दै पार्टी खोलेर स्थानीय चुनावमा स्वतन्त्र रुपमा वालेन शाह र हर्क साम्पाङको इन्ट्री देखेर सायद यही हो अवसर भनेर झ्याप्पै आउने निर्णय गरे अथवा भित्रैभित्रै तयारी गरेका थिए, यो उनै जानुन् । जे सुन्नमा आएको छ अमेरिकी नागरिकता त्यागेपछि फेरि पुरानै नेपाली नागरिकता नै लिएको विवाद सतहमा उठ्नुले पक्कै पार्टी खोलेर चुनावमा आउने निर्णय हतारमा हुन सक्छ ।
यो महत्वपूर्ण समयबाट लाभ लिन खोज्ने कुरामा रविजीको क्षमता देखिए पनि आफ्नै नागरिकताको विषयमा प्रष्ट नहनु ठूलो कमजोरी हो । खैर, नयाँ उदाउँदै गर्नुभएका रविजीलाई ज्योतिष बनेर असफल हुन्छन् भनेर भविष्यवाणी म गर्दिन । उहाँहरू जस्तो युवा आवाज, तरङ्ग, अभियान देशमा चाहिएको छ । मात्तिएका ठूला पार्टीहरू पनि लुरूलुरू जनताको काममा लाग्ने वातावरण बनाउन पनि रविको तरङ्ग देशमा खाँचो छ ।
‘जुन जोगी आएनी कानै चिरेको’, ‘सतीले सरापेको देश’, भनेर चित्त बुझाउनु पनि सायदै भौगोलिक स्थितिमा दुई ठूला प्रतिस्पर्धी देशको बीचमा रहनु बाध्यता हाम्रो दुर्भाग्य हो कि ? अथवा सकारात्मक सोचे त एक किसिमले भाग्य पनि हो कि ? यसै भन्न सकिँदैन ।
हामी नेपाली एक हुनै सकिएन भने कि त नेपाली नभइएला । यो कुरा सुन्दैमा कानले नै अस्वीकार गर्ला । मनको त झन् के कुरा । अथवा नेपाली भएर पनि स्वतन्त्र, सुखी, समृद्ध नेपाली हुन नपाइएला । हाम्रो भाग्य हामीले कुन रोज्ने कसरी पो रोज्ने ? पुर्खाहरूले जोगाएको देश त हो तर कतिपय निहित स्वार्थले गलत सम्बन्ध छिमेकी देशहरूसँग गरेको ब्याज आज पनि नेपालीले बेहोर्न परेको छ ।
नेपाली मिल्न नदिने डिजाइनमा पार्टीहरू नेतृत्वहरू पटक पटक रूमलिएका छन् दुर्भाग्य । इतिहासले यस्तै भन्छ । क्रान्तिबाट आएको गणतन्त्रलाई कतै प्रतिक्रान्तिले सक्ने डिजाइन त हैन ? प्रश्न निकै गम्भीर छ । यो स्थिति आउनु माओवादीकै पनि कमजोरी हो ।
न्वारान देखिको बल लगाएर एमाले सक्ने खेलमा लाग्दा हिजोको हिंसाबाट शान्तिको बाटोमा आएका माओवादीलाई नै नोक्सान हुन्छ । शान्तिको बाटो जनताबाट अनुमोदित हुने बाटो समाएपछि केको फरक ? यसरी लाचार बनेर दक्षिणपन्थीको पुच्छर नसमाएकै बेस हो । हिजोसम्म जे भयो भयो आजबाट सोचमा परिवर्तन गर्नपर्छ । एउटा वाम आन्दोलन जोगाउन पर्छ भन्ने आस्था र विश्वास राख्ने एक सामान्य नेपालीको नाताले मात्र सुझाव दिएको हुँ ।
जे भयो भयो । आयो परिणाम । अब पाँच वर्ष जनताको म्यान्डेट बुझेर काम गर्दिए त राहत मिल्ने थियो । यस्तै सुनियो जनगुनासो र धारणा पनि । ठूला पार्टीहरू मिलेर संक्रमण अन्त्य गर्न ५ वर्ष चलाए हुन्थ्यो भन्नेहरू एमाले–काङ्ग्रेस शुभचिन्तकको आवाज धेरै सुनियो ।
वामपन्थीहरू, समाजवादीहरू एकातिर, डेमोक्रेटिक धार कन्जर्भेटिभ धार अर्कातिर बसेर स्वच्छ प्रतिस्पर्धा गर्दा जो अगाडि हुन्छ उसैको नेतृत्वमा ५ वर्ष देश चलाए हुन्थ्यो भन्ने आवाज पनि सानो छैन ।
आशा छ, पक्कै पनि देश र जनताको हितमा पार्टीहरूले निर्णय गर्ने छन् । यद्यपि नेताहरू आफ्नै पार्टीका त मिल्दैनन् अरू पार्टीसँग त परको कुरा भन्ने धारणा पनि अनुभवले नै बन्न दिएको हो । नेताहरू मिल्दै नमिल्ने देशका केन्द्रदेखि सबै प्रदेशमा मिलिजुली नै सरकार बनाउन जनताले अनुमति दिए, आदेश जाहेर गरे ।
सायद यही नै हो कि जनताले पार्टीहरू, नेताहरूलाई दिएको सजाय मिलेर अगाडि बढ, झगडा अब नगर भनेर । देशको बिजोग योभन्दा बढी नभइदिए हुन्थ्यो । जो आउने हो आउ ठिक छ तर समृद्ध देश सुखी नेपाली बनाउ ।
थोरै चुनावको अनुभव :
पटक्कै घण्टीको चहलपहल देखिएन म खटेको कास्कीमा सुरूका दिनमा । हाम्रो क्षेत्र कास्की क्षेत्र नं २, जहाँ मेरो मताधिकार छ । यसै क्षेत्रलाई केन्द्र बनाएर चुनावी अभियानमा सक्रिय रहेँ । विशेष ध्यान गठबन्धनको तर्फबाट कलमतिर अर्थात गठबन्धनतिर गएको थियो । हामीले कसैप्रति गाली गरेर हैन ससम्मान हँसिलो अनुहारले नमस्कार गर्दै, हात मिलाउँदै, अंकमाल गर्दै एक आपसमा इमान्दारीपूर्ण आफ्नो कर्म गरिरहेका थियौँ ।
मलाई लाग्छ, जनस्तरमा भित्रभित्र हाम्रो मन मानिरहेको थिएन । रोइकराई रहेको थियो । नेतृत्वको निहित अहम् र स्वार्थका सिकारी हामी भैरहेका थियौँ जस्तो महसुस गरेको थिएँ । तर पनि लामो संघर्षको इतिहास र सांगठनिक मोर्चा समेत भएको चुनावी अनुभव पनि थियो । यसै आडमा बसेर आ आफ्नो मोर्चा सम्हालेर चुनावमा होमियौँ ।
म त एक पार्टीको बच्चैदेखिको इमान्दार शुभचिन्चक अनि उमेदवारको पारिवारिक सम्बन्ध पनि जोडिएको नाताले सक्रिय रहनु, फरक फरक जानकारीहरू हरेक दिन अद्यावधिक गर्नु, धेरै मान्छेहरूसँग भेटघाट गर्नु मेरो दैनिकी नै बनेको थियो यस पटक । कतिपय वेला सुटुक्क पर्यवक्षकका रूपमा फरक फरक चिया पसलमा गफ सुन्न पनि जाने गरियो । मलाई खासै नचिन्ने भएकाले यो सुविधा मसँग थियो र यो अवसरलाई जनताको सोच मूल्याङ्कन नजिकबाट सुन्न सदुपयोग गरेँ ।
धेरै सवालहरूमा दुःख लागेर आयो । जनताको नैराश्यता र हिजो एउटै पार्टीमा बसेकाहरू एक आपसमा गालस् गर्ने शुभचिन्तक, कार्यकर्ताको बाध्यता वास्तवमै घरका दाजु भाइको लडाइँमा बाहिरी घुसेर बल जबर्जस्ती एक आपसमा लडाइरहेका छन् भोलि फेरि मिल्नै पर्दैन जस्तो गरेर । एउटै घरमा बस्नै पर्दैन जस्ता दृश्य देख्दा, सुन्दा मन धेरै पटक रोइसकेको थियो ।
हाम्री भाउजु उमेदवार विद्या भट्टराईको सालीन व्यक्तित्व कताकता ठ्याक्कै दाइ रविन्द्र अधिकारीसँग मिलेको पाएँ । दाइबाटै धेरै संस्कार सिकिसकेका थियौँ हामी सबैले । म पनि ३ वर्षअघिको उपचुनाव र यसपालि प्रत्यक्ष चुनावमा सक्रिय रहेँ । कसरी भाउजुलाई सहयोग गर्ने सबालमा पार्टी त एक ढिक्का भएर लाग्यो नै । हाम्रो परिवार पनि सधैँझैँ एक ठिक्का भएर लागियो ।
साथीभाइ, आफन्तहरूको पनि सधैँझैँ साथ र सहयोग रह्यो । गोरूले दाइँ हालेको ठाउँ, धान काटेको ठाउँ, कोदो काटेको ठाउँ हुँदै सबैलाई ठाउँमा सबैलाई भेट्न जाँदै गर्दा बालपनको पनि याद आयो । पहिला नेपालमा हुँदा यसरी नै हिँडिन्थ्यो । दूध, मोही, मकै, रोटी, ब्याम्ती, फलफूल जे छ त्यही दिएको खाएर हिँड्ने गर्थेँ । मलाई सानैदेखि हो प्रकृति, मानिस असाध्यै मन पर्छ । त्यसैले होला सधैँ माया लाग्छ, विश्वास लाग्छ अनि भरोसा पनि ।
मलाई लाग्यो, योभन्दा बढी यसरी मिलेर बसेको हाम्रो मानव समाजबीच धेरै घाउहरू फैलिन दिन हुन्न । धेरै कल झगडामा सुन्दर जीवन खर्च हुन दिन हुन्न । हाम्रा पुर्खाले सन्ततिलाई छोडेको ज्ञान अनुभवमा परिमार्जन गरेर हामी मुनिको पुस्तालाई सन्ततिलाई सुम्पन पर्छ । यसका लागि मानव एकता अपरिहार्य छ । भाइ भाइ एकता जरूरी छ ।
यसरी मनैबाट सबैले संकल्प गर्न पाए हुन्थ्यो भन्ने एउटा चाहना पलाएको छ । फरक फरक विचार भएर के भयो र स्वच्छ कर्म गरौँ आफूलाई जे ठिक लाग्छ त्यसमा विश्वास गरौं । अरूलाई हानी नहुने गरी आफ्नो स्वतन्त्र जीवन खुसीले जिउन सकौँ ।
लेख्दै गर्दा राजनीतिक यथार्थमा फर्कन्छु । हिजो माओवादीसँग चाबी थियो । आज त धेरैले सहायक चाबी हात पारेका छन् । अप्राकृतिक रूपमा हिँड्न खोजे वास्तवमा समस्या जटिल छ । समाधान भनेको लेफटिस्ट एकातिर राइटिस्ट अर्कातिर । अर्थात भेडा भेडा एकातिर, बाख्रा बाख्रा अर्कातिर लाग्ने प्राकृतिक सिद्धान्त नै हो ।
भौतिक द्वन्द्ववादीहरू अवैज्ञानिक बाटो लागे भने सबैभन्दा पहिला सैद्धान्तिक अन्त्य लाग्नेहरूकै हुन्छ । लेफ्ट अथवा राइट कोलिसन गभर्मेन्ट जसको बहुमत आउँछ, ती मध्येको सबैभन्दा ठूलो पार्टीको नेतृत्वमा सरकार बनाउन सके पक्कै अस्थिरता कम हुन्छ । एक सचेत नागरिकको हिसाबले सुझाव राख्न चाहन्छु । सबैले यस्तो सुझाव दिनुपर्छ । आवश्यक परे दबाव पनि दिन छाड्नु हुन्न ।
वर्षौंदेखिको राजनीतिक झगडाको गलत फाइदा भ्रष्टाचारबाट मुख्यतः ब्युरोक्रेट अनि टाठा बाठा राजनीतिज्ञले लिएका छन् । दोष भने सिधा सादा कर्मचारीदेखि इमान्दार राजनीतिज्ञलाई नै लगाउने एउटा अदृश्य सेटिङ्ग छ । गजब छैन त ? उदेक लाग्दैन त ?
उदाहरण– एउटा सामान्य सवारी लाइसेन्स नवीकरण गर्दा खुसुक्क मागिने कुराले नै अनुमान गर्न सकिन्छ, सेटिङ्गमा कर्पोरेट भ्रष्टाचार सानो तह देखि ठूलो तकसम्म । कानुन आँखा देख्दैन, प्रशासनको हात कानुनले बाँधेको छ । पार्टी, मन्त्री नेताहरूको खुट्टा ब्युरोक्रेटले समाएको हुन्छ । सायद त्यसैले होला भनिने– जुन जोगी आए नि कानै चिरेको । हुन पनि हो बर्षैपिच्छे सरकार फेरिए पनि भ्रष्टाचार नरोकिएको होला हगि ।
सानैदेखि आफ्नो सिद्धान्तमा अडिग तर फरक सिद्धान्तका साथीभाइ नातेदारसँग अहँ कहिल्यै नराम्रो सम्बन्ध रहेन । दाइबाटै यो संस्कार सिकियो । तर रोचक पक्ष दाइलाई कसले सिकायो त ? बाबा आमाको शिक्षादीक्षाको देन हो त ? घरपरिवारमा देखेर पहिला आफँैले सिकेर भोगेर हामीहरूलाई सिकाउनु भयो कि ? घमण्ड गरेर यी कुराहरू राखेको हैन । तर आज नेपालमा क्षीण हुँदै गइरहेको पारिवारिक एकता, पार्टीहरूको विचलन देख्दा सबै एकताको सूत्रधार पारिवारिक एकता नै हो । परिवारको एकतामा शक्ति छ भनेर एकपटक सम्झाउन खोजेको मात्र हुँ । आज नेपाल आमाले परिवारको एकताको कामना गरिरहेकी छन् आशा छ यो कामना यसपालिदेखि पूरा हुनेछ ।
अझै पनि देशमा जनस्तरमा भित्रैदेखि काङ्ग्रेस र कम्यूनिष्ट .एमाले) छन् । मन पराएको पार्टीप्रति असन्तुष्टि भए पनि चुनावमा आफ्नो मत सुरक्षित राख्ने जनमत एमाले र काङ्ग्रेसमा बराबरी छन् जस्तो अनुमान गर्दछु । स्वतन्त्र मत, असन्तुष्ट मत बढ्दा मात्र अन्य पार्टीहरू, नयाँ स्वतन्त्र पार्टीहरूले अवसरको रूपमा लाभ लिने मात्र हुन् वर्खाको भलको रूपमा । यो नै बलियो जनाधार हैन । यो हिजो माओवादीलाई भयो । आज अलिकति भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी नेपाललाई मिलेको छ । यसले पनि आफ्नो धरातल बिर्सिएसुखद नहोला । आशा राखौँ माओवादी जस्तो खुम्चिएर जाने भूल नगर्ला ।
जाँगर छैन । माथि पनि भनिसके, चुनावी तथ्यगत के कुरा गरिरहनु भनेर । यो चुनावले कुनै जनमतको तथ्याङ्क देखाएकै छैन । देशले हारेको छ । सबै पार्टीले हारेका छन् । एमालेले मात्र घेराबन्दी तोडेर अस्तित्व जोगाएको छ । आफ्नै आन्तरिक अन्तर्घात खेपेर पनि कमजोहरू मध्येको शक्तिशाली बनेको छ । कमसेकम आफ्नै अन्तर्घात नभएको भए प्रतिनिधिसभा प्रत्यक्षमा पनि पहिलो हुने रहेछ ।
काल्पनिक कुरा भए पनि प्रचण्ड, नेपाल, ओलीको जुङ्गाको लडाइँमा हैसियत देखिएको छ । तर अब हैसियत अनुसारको हिस्सा लिएर वाम लोकतान्त्रिक मोर्चा बनाउनु राम्रो र पहिलो बिकल्प हो कि यो मेरो सुझाव आदरणीय नेताहरूलाई ।
पहिला भत्किएको घरको मर्मत गरेर देशलाई इमान्दार शक्तिशाली पार्टी जसले देश र जनताको हितमा काम गर्न सकोस् उसैको खाँचो महसुस गरेका छन् जनताले । एमालेको सायद बिकल्प नहोला अलग्गिएका पनि आएर आफ्नै घर सम्हालेर । तत्काल सरकारको नेतृत्व गर्ने खेलतिर नलागी पार्टीका कार्यकर्ता तहमा बिकसित अन्तर्घाती सोच हटाउन मेहनत गर्नपर्छ । नत्र नेतृत्व दिन नसके पक्कै अर्को कुनै शक्ति आउँछ । जस्तै– विभिन्न बिबादका बाबजुद पनि एक्कासी उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ।
लामो समयदेखि नारा अनुसारको परिणाममुखी काम भने एमालेले गर्न नसकेको हो । तर विगत ५–६ वर्ष भने देशमा विकासको समृद्धिको नारा अगाडि सारेको एमालेले केपी ओलीले हो भन्न अन्याय गर्न हुँदैन । विकासका योजनाहरू अगाडि सार्दा विरोध, अवरोध गर्दै पछिल्लो समयमा गठबन्धन्ले सबै प्रोजेक्टहरू रद्द गर्दिएको थुप्रै योजनाहरू जनताले बुझेको पाएँ गाउँगाउँ घुम्दा । ‘यी यो बाटो पिच हुनै लागेको थियो गठबन्धनले रोकिदियो’, ‘हाइवेदेखि हस्पिटलहरू पनि गठवन्धनले रोकिदियो’ भन्ने आवाज सुन्नमा आएको थियो ।
घण्टीको कुरा अलग राखेर मूल्याङ्कन गर्दा गठबन्धनलाई भन्दा एमाले नै रूचाएको पाइयो । यद्यपि एमालेका दोस्रो पंक्तिका हस्ती नेताहरूले हार ब्यहोर्न पर्यो । यो हार अब वामपन्थीहरू समेटेर बलियो एमाले पार्टी बनाउन सदुपयोग गरियोस् । अबको १०० वर्षको नेपाल बनाउने भिजन, योजना, सिद्धान्त प्रष्ट पार्ने वैचारिक स्कुलिङ्ग सुरू गरेर आर्थिक रूपमा कसरी देशले उन्नति गर्छ र हाम्रो देशले गरेको उत्पादन कसरी दुई छिमेकी देशमा पुर्याउन सकिन्छ ?
कसरी अर्थ उत्पादनमा, रोजगारमा, कल कारखाना बढाएर विकासोन्मुख समृद्ध देश बनाएर समाजवाद स्थापना गर्न सकिन्छ भन्ने ठोस् कार्यक्रम तयार गर्दा जनताको अनि समग्र देशको हितमा हुनेछ । देश र जनताको हितमा काम गर्ने हो भने जनताले जुन पार्टी आए पनि खुसीले स्वागत गर्ने छन् ।
हो, अब नाटक अति भो । कि मिल्नु वामपन्थीहरू, नत्र सकिएर जानु ।
वाम पन्थहरूका खुद्रा पसल खोलेर नबस्नु । रवि लामिछानेसँग कुनै सिद्धान्त नभएको भनेर आरोप लगाउनुको औचित्य नरहेको कुरा पुराना पार्टीहरूको नाजायज सिद्धान्तविहिन गठबन्धनले देखायो । चरम गठवन्धनमा कुनै सिद्धान्त छ र रविको विरोध गर्न ? एमालेले पनि आफ्नो पार्टी अनुशासनमा नरहने, एक ढिक्का पनि नहुने, फरक वामपन्थी धारहरूको खेदो खन्नु मात्रै सिद्धान्त हैन ।
रविलाई चोर औँला ठड्याउनुअघि बाँकी चार औँलाले के देखाएका छन् त्यतातिर पनि ख्याल गरौँ । स्तरहीन कमेन्ट र प्याच्च बोलिहाल्ने, प्रतिक्रिया दिइहाल्ने शैलीमा नेतृत्व तहदेखि कार्यकर्ता तहसम्म सुधार्न जरूरी छ ।
चुनावअघि आफूलाई मनपर्ने पार्टी जिताउन आफ्नो बलबुताले भ्याएसम्म मेहनत गरियो । तर आजदेखि आफ्नो कमजोरी लुकाएर हैन विवेक र इमान्दार बनेर आत्मसमीक्षा गरेर फेरि नयाँ चरणमा प्रवेश गर्नु पर्दछ । अरू सबै पार्टीहरूले पनि यस्तै गरे हाम्रो प्रजातन्त्र, लोकतन्त्र सुन्दर बन्ने थियो । पक्कै पनि हामी र हाम्रो देश सुखी र समृद्ध बन्ने थियो ।
प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार १२ : ५६ बजे
प्रतिक्रिया