धमाधम सिँगारिँदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । 

मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिए लगत्तै स्थायी राजधानीको कार्यालयमा रङ्ग रोगनका साथै सरसफाइ थालिएको हो ।

राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतीक्षालय रङ्ग रोगन र सरसफाइ धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

विशेषगरी भालुवाङ बजार, मौरीघाट क्षेत्र, पिपरी बजार, सिसहनियाँ बजार, सिंगेखोला लगायत क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् भने प्रतीक्षालयहरू पनि रङ्ग रोगन गरिइएको छ । 

राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मूल समितिसहित विभिन्न उपसमिति बनाएर जिम्मेवारीअनुसार काम गरिरहेको छ ।

जसमा श्यामेश चौधरीको संयोजकत्वमा गठित सरसफाइ तथा सौन्दर्यीकरण उपसमितिले पूर्व-पश्चिम राजमार्ग, नौ वटै वडा तथा टोलहरू सरसफाइ गर्ने, प्रतीक्षालयहरू रङ्ग रोगन गर्ने, स्वागत गेट बनाउने जिम्मा पाएको थियो । 

त्यही जिम्मेवारीअनुसार राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका, चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरूसँगको सहयोग तथा समन्वयमा राजधानी सिँगार्ने काम भइरहेको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ । अहिले प्रदेशसभा भवन निर्माण समेत अन्तिम चरणमा पुगेको छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  २ : ०६ बजे