काठमाडौँ । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै संसद् सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश जबरा, सङ्घीय संसद् सचिवालय र संसद् सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो ।
जबराको आचरणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरूले उहाँ विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो । महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधवार मात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाउनुभएको थियो ।
जबराविरुद्ध २०७८ १ फागुन गते महाभियोग प्रस्ताव दर्ता भएको हो । उहाँ २७ मङ्सिरमा उमेर हदका कारण अवकाश पाउँदै हुनुहुन्छ ।
प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ९ : ०८ बजे
प्रतिक्रिया