लाभांश प्रस्ताव पारित गर्न सेञ्चुरी बैंकले बाेलायाे साधारणसभा

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे मंसिर २१ गते बसेकाे सञ्चालक समितिकाे बैठकले वार्षिक साधारणसभा पुस १४ गते बाेलाउने निर्णय गरेको हो। सभा काठमाडाैंको भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बाेनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले बैंकलाई प्रभु बैंकले १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्नका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गर्ने छ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस ४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ३७ बजे