आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए पुस १ गतेदेखि एक लाखसम्म जरिवाना

काठमाडौँ । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । 

विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुला रूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो ।

विभागले अबका दिनमा गाडीको धुवाँ निष्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ । 

पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।

कैफियत भेटिएमा वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ अनुसार जरिबाना हुने सूचनामा उल्लेख छ । छड्के जाँचमा प्रदूषण जाँच पासको रूपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिवाना गरिने विभागले चेतावनी दिएको छ । 

साथै विभागले कसैले टोल छिमेकमा खुला रूपमा फोहर जलाउने तथा खुला रूपमा फोहर जलाएको पाइएमा गोप्य रूपमा जानकारी दिनसमेत आग्रह गरेको छ । यसरी खुला रूपमा फोहर जलाउनेलाई कारबाही गरिनेसमेत विभागले जनाएको छ ।

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : ०० बजे