माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

सन् २०२३ मा श्रीलङ्काले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

कोलम्बो । श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवर्द्धन मन्त्रालयले बुधवार जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।”

यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलङ्काको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने, निर्यातकर्ताहरूको सङ्ख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीतिहरू लागू गरेको मन्त्रालयले जनाएको छ ।  

यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

श्रीलङ्कामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर)को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका बस्तु खरिदमा समस्या भएपछि केही महिना पहिले देशव्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट बाहिरिनु परेको थियो । रासस÷सिन्ह्वा

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ९ : १३ बजे