सुनको मूल्यमा नयाँ कीर्तिमान

जिल्ला अस्पतालमै छैन जीवनजल

सुर्खेत । मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव भएको छ ।

जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।

सरकारले निःशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पताल अभाव छ । मुगु अस्पतालमा जीवनजल समेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन् । औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ ।

अस्पतालमा जीवनजलको अभाव हुँदा जीवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधि पसलमा किन्न पठाउँछन् ।

झाडापखाला लाग्दा मृत्युबाट जोगाउने अचुक औषधिको रूपमा मानिने जीवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । 

जिल्ला अस्पताल मुगुमा जीवनजलको अभाव एक महिनादेखि रहेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताउनुभयो ।

“हामी बिहानैदेखि बिरामीहरूलाई सेवा प्रदान गरिरहेका छौँ, तर उनीहरूलाई निःशुल्क रूपमा दिनुपर्ने औषधि दिन सकेका छैनौँ”, अस्पतालमा कार्यरत एक कर्मचारीले भन्नुभयो । कर्मचारीका अनुसार एक महिनादेखि अस्पतालमा जीवनजल अभाव भएको छ ।

किन्छु भन्दा समेत बिरामीहरूले पाएको छैन । “जिल्ला अस्पतालमा जीवनजल एक महिनादेखि अभाव छ भन्छन्, के हो ? ”भन्ने  प्रश्नमा स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पशुराम नेपालीले जीवनजल अभाव भएको एक महिनादेखि नभई दुई–तीनदेखि भएको बताउनुभयो ।

जिल्ला अस्पताल मुगुमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधिहरू समेत अभाव छ । 

राज्यबाट ७२ प्रकारभन्दा बढी औषधि निःशुल्क रूपमा उपलब्ध गराउन भनिए पनि मुगुमा ५० देखि ६० प्रकारका मात्रै औषध पाउने गरेका स्वास्थ्य सेवा कार्यालय मुगले जनाएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ५३ बजे