बाराही हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आज (मङ्सिर २१ गते)देखि साधारण सेयर (आइपिओ) निष्कासन खुलाएको छ । 

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । सोमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ । 

बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । सोमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याईएको छ । 

लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्  ।

निष्कासन बन्द छिटोमा मङ्सिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आइपिओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको सङ्केत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : २५ बजे