माथिल्लो मनाङमा हिमपात

जुम्ल्याहा दिदीबहिनीले एउटै केटासँग विवाह गरे, के यो कानुनी रुपमा सम्भव छ?

​​​​​​​बीबीसी । भारतको महाराष्ट्रस्थित सोलापुरमा एकजना युवकले जुम्ल्याहा दिदीबहिनीसँग विवाह गरेको कुरा चर्चाको विषय बनेको छ। तर यो विवाहको कानुनी उल्झनबारे पनि बहस भइरहेको छ।

महाराष्ट्र राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरले यो विषयमाथि कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी छन्।

रूपाली चाकणकरले ट्वीट गर्दै भनेकी छन्, "सोलापुरमा एक युवकले मुम्बइका जुम्ल्याहा दिदीबहिनीसँग विवाह गरेका छन्। यो भारतीय दण्ड संहिताको धारा ४९४ अनुसार अपराध हो। यो विषयबारे सोलापुरको प्रहरीले जाँच गर्न आवश्यक छ र तुरुन्त कानुनी कारबाही अगाडि बढाउनुपर्छ। साथै त्यसबारेको प्रतिवेदन महाराष्ट्र राज्य महिला आयोग अधिनियम १९९३ धारा अनुसार तुरुन्त पेश गर्न आवश्यक छ।"

सोलापुरको अकलुज इलाकामा एक पुरुषले जुम्ल्याहा दुई दिदीबहिनीसँग एउटा मण्डपमा विवाह गरेका हुन्।

जबकी कयौँ मानिसले यो विषयबारे भारतमा के दुई विवाह सम्भव छ र भन्दै प्रश्न उठाएका छन्।

यस्तो विवाहलाई कानुनले मान्यता दिन्छ?

विवाह कस्तो भयो?

​​​​​​​यो विवाह कसरी सम्पन्न भयो भनेर अकलुज प्रहरी चौकीका एसएचओ अरुण सुगावकरले जानकारी दिएका छन्।

उनले भने, "मुम्बईका जुम्ल्याहा दिदीबहिनी पिङ्की र रिङ्कीको विवाह अतुलसँग भएको हो। जुम्ल्याहा भएका कारण दिदीबहिनी उस्तै देखिन्छन्। उनीहरूले सानै उमेरदेखि एकै घरमा विवाह गर्ने र सँगै बस्ने निर्णय गरेका थिए।"

सुगावकरले भने, "दुवैले पहिलादेखि नै एउटै केटासँग विवाह गर्ने निर्णय गरेका थिए। उनीहरूको परिवारले पनि त्यस्तो विवाहका लागि अनुमति दिएको थियो।"

विवाह सोलापुर जिल्लाको अकलुजमा जामापुर सडकमा पर्ने गलाँडे होटलमा भएको हो।

अतुलको गृहनगर मालशिरस हो। मुम्बईमा उनको ट्राभलसम्बन्धी व्यवसाय छ।

उता पिङ्की र रिङ्की आइटी इन्जिनियर हुन्। दुवै आफ्ना आमासँग बस्थे। त्यसबेला अतुलको उनीहरूसँग परिचय भयो।

परिचय त्यसपछि प्रेममा बदलियो। जब एकपटक पडगांवकर परिवारका आमा र दुई छोरी बिरामी भए तब अतुलले उनीहरूलाई आफ्नो कारमा अस्पताल लैजान्थे।

पडगांवकर परिवार बिरामी हुँदा अतुलले उनीहरूको हेरचाह गरे र उनीहरू नजिकिए।

होटलका मालिकले पुष्टि गरे

विवाहको पुष्टि गर्नका लागि बीबीसी मराठीले अकलुजस्थित होटल गलान्डेका मालिक नाना गलान्डेसँग फोनमा सम्पर्क गर्‍यो।

नाना गलान्डेले आफ्नो होटलमा अतुलको रिङ्की र पिङ्कीसँग विवाह भएको स्वीकार गरे।

यसबारेमा थप जानकारी दिँदै नाना गलांडेले भने, ''विवाह शुक्रवार, २ डिसेम्बर दिउँसो हाम्रो होटलमा भएको थियो। विवाह समारोह आयोजना गर्न उनीहरूले पहिला हामीसँग सम्पर्क गरेका थिए। त्यतिबेला हामी पनि सुनेर अचम्म परेका थियौँ।''

विवाहको योजना बनाएपछि होटल मालिकका हिसाबले आफूले सबैभन्दा पहिला त्यसबारे दुलहीहरूसँग कुरा गरेको उनले बताए।

नाना गलान्डेले भने, ''दुवैजना राम्रै पढेलेखेका छन्। उनीहरूले आफ्नो इच्छाले मिलेर विवाह गर्ने फैसला गरेको बताए। अन्तिममा यो सुनिश्चित गरेपछि मैले उनीहरूसँग आधार कार्ड, प्यान कार्ड र अन्य विवरण मागेँ। त्यसपछि हाम्रो होटलमा विवाह गर्न दिएँ।''

यो विवाहको तस्बिर र भिडिओ निकै भाइरल भएको छ।

मुद्दा दायर

बिहेपछि सोसल मिडियामा थरिथरिका प्रतिक्रिया आए।

एकजना युवकले त पुलिस चौकीमा मुद्दा नै दायर गरेको अकलुज थानाका एसएचओ अरुण सुगावकरले यो कुराको जानकारी दिएका छन्।

अतुल उत्तम अवताडेले २ डिसेम्बरमा अकलुजमा जुम्ल्याहा दिदी बहिनी रिंकी मिलिंद पडगांवकर र पिंकी मिलिंद पडगांवकरसँग बिहे गरे।

राहुल फुले नामका एक व्यक्तिले बिहे गर्ने ती युवकविरुद्ध अकलुज थानामा भारतीय दण्ड संहिताको धारा ४९४ अनुसार मुद्दा दायर गरेका हुन्।

यस बिषयमा अब के कारबाही हुन्छ भन्ने प्रश्नको जबाफमा सुगावकरले भने, “हामी यो मामिलाको जाँच गरिरहेका छौँ। त्यसपछि नै यसबारे केही टिप्पणी गर्नु उचित होला।”

बीबीसी मराठीले बिहे गरेका युवक अतुल अवताड़ेसँग सम्पर्क गर्न गरेको कोशिस सफल भएको छैन।

कानुन के भन्छ?

भारतीय दण्ड संहिता ४९४ अनुसार पति या पत्नी जीवित रहँदै दोस्रो बिहे गर्न पाइन्न।  

यदि पति वा पत्नी जीवित रहँदै पति-पत्नीमध्ये कसैले अर्को बिहे गरेमा त्यसलाई कानुनी मान्यता दिइन्न। 

बिहे गरेमा दोस्रो पटक बिहे गर्ने पति या पत्नीलाई सात वर्षसम्मको कैद र जरिवाना हुन सक्छ।

बीबीसी मराठीले केहीअघि यस्तै मामिलामा एक वकिल दिलीप तौरसँग कुराकानी गरेको थियो।   

उनले प्रिभेन्सन अफ बाइग्यामी नियमबारे जानकारी दिँदै भने, "बम्बै प्रिभेन्सन अफ हिन्दू बाइग्यामी कानुन १९४६ का अनुसार एक हिन्दू विवाहित व्यक्तिले आफ्नी पहिलो पत्नीसँग सम्बन्धविच्छेद नगरी दोस्रो बिहे गर्न पाइन्न। सिख धर्म, ईसाई धर्म, पारसी र जैन धर्मको विवाह सम्बन्धी कानुनमा पनि त्यस्तै व्यवस्था छ।"

अकलुज मामिला बुझ्न बीबीसी मराठीले वरिष्ठ वकील असीम सरोदेसँग सम्पर्क गरेको थियो।

उनले बताए अनुसार दुवै पत्नी स्वेच्छाले सँगै बस्छन् भने त्यो अपराध होइन।  

उनले भने, ''भारतमा दुइजनासँग विवाह कानुन विपरित हो। तर दुई पत्नी स्वेच्छाले र आपसी सहमतिमा त्यो कुनै अपराध होइन किनभने देशका कैयौँ हिस्सामा दुई विवाह गर्ने प्रथा छ। केटीहरू यदि एक पतिसँग बस्न तयार छन् भने बाहिरका मानिसले त्यसमा कुनै हस्तक्षेप गर्न पाउन्नन्।'' विविसीबाट 

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ५ : २६ बजे