बचतकर्ताको रकम ठगेर मञ्जुश्री सहकारीका सञ्चालक फरार

काठमाडौं । मञ्जुश्री बचत तथा ऋण सहकारी जोरपाटीमा पैसा बचत गरेका बचतकर्ता विचल्लीमा परेका छन्। सहकारीका सञ्चालक श्याम लामासहितका कर्मचारीले सहकारी बन्द गरी फरार भएसँगै उनीहरू विचल्लीमा परेका हुन्।

सहकारीका कर्मचारीले १८ असोजमा सबैको पैसा फिर्ता दिने भन्दै भुक्तानी माग गर्ने बचतकर्तालाई फर्काएका थिए। सहकारीबाट पैसा नपाएका मध्येका एक पीडित रामु तामाङले भन्नुभयो, ‘यस सहकारीले प्रतिव्यक्ति २ देखि ४० लाखसम्म पैसा खाएर भागेको छ । पैसा फिर्ता पाउने आशाले सहकारीमा पुग्दा ताला लगाएको अवस्था छ।’ आफ्नै बचत रकम नपाउँदा विचल्लीमा परेको उहाँले दुखेसो सुनाउनुभयो ।

रामेछाप घर भएका तामाङले आजभन्दा दुई वर्षअघि गोकर्णेश्वर नगरपालिका वडा-५ मा रहेको मञ्जुश्री सहकारीमा ८ लाख जम्मा गर्नुभएको थियो । यतिखेर सो पैसा कसरी उठाउने भन्ने चिन्तामा रहेका उहाँले बताउनुभयो । यतिवेला सहकारीमा जितेन लामा ३५ लाख, उमेश खतिवडा १४ लाख भगवती मिजार ६ लाख, डोल्मा लामा २३ लाख भुक्तानी लिन बाँकी रहेको बताउनुभयो ।

सो सहकारीले एक महिना अगाडि सुमो सकोसबीच एकिकरण भएको सूचना सार्वजनिक गरेको थियो। उनीहरु यतिवेला पैसा उठाउनका प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेका छन्। सहकारीमा कुल कति सदस्य छन् र कति रकम ठगी भएको भन्नेबारे यकिन तथ्यांक खुलिनसकेको बताइएको छ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  १ : १८ बजे