बिहेको सिजनमा तोलाकै १ लाख नजिक पुग्यो सुनको मूल्य

​​​​​​​काठमाडौँ । बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको अत्यधिक खपत हुने महिना मङ्सिरमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । आज सुन झन्डै तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९९ हजार एक सय रुपैयाँ कायम भएको छ । 

बिहीबार सुन ९८ हजार एक सय रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो । बुधवारकै तुलनामा बिहीबार सुन पाँच सय रुपैयाँले महँगिएको थियो ।

मङ्गलवार यताको ट्रेन्ड हेर्ने हो भने सुन तीन दिनमै एक हजार सात सय रुपैयाँले बढेको छ । एक सातामा सुनको मूल्य एक हजार ३ सय रुपैयाँले महँगिएको महासङ्घको तथ्याङ्कले देखाएको छ । 

मङ्सिर लागेदेखि यताको ट्रेन्डलाई पछ्याउने हो भने सुनको मूल्य तोलामा ११ सय रुपैयाँले महँगिइसकेको छ । 

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्दै जाँदा र अमेरिकी केन्द्रीय बैङ्कले ब्याजदर वृद्धिदरलाई घटाउने सङ्केत दिएपछि सुनको भाउ बढेको जनाएको छ । 

बिहेको सिजन भए पनि सरकारले सुन आयातमा भने कडाइ गरिरहेको छ । विगतमा बिहेको सिजनमा दैनिक २०/२५ किलो सम्मको आयात अनुमति दिने गरेको राष्ट्र बैङ्कले यसपालि १० किलोभन्दा बढी सुन आयात गर्न दिएको छैन । 

शोधनान्तर चाप बढ्दै गएपछि सरकारले सुन आयातमा कडाइ गर्दै आएको छ । बिहेको सिजनमा बजारमा दैनिक ५० किलोसम्म सुनको माग रहेको व्यवसायीको भनाइ छ । 

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ११ : २० बजे