‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युवती हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । 

मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजी कार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । मायाको बुधवार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बाला डाँडामा रक्ताम्मे अवस्थामा फेला परेकी हुन् । 

हाल उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते नेहाले दिएको बयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ । 

माया र नेहा मङ्गलवार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधवारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधवार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी हुन् । घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो । 

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायतका सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्ने प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । मायाको शव परीक्षणपश्चात् आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन । रासस

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ११ : ०९ बजे