सुनको मूल्यमा नयाँ कीर्तिमान

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौँ ।  कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साबिक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । 

यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोल अन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । 

खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले निर्णायक गोल गरे । जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन ।

अष्ट्रेलिया नकआउट चरणमा
​​​​​​​त्यसैगरी कतारको अल जुनब रङ्गशालामा गए राति नै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोल अन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे ।

फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोल अन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो । 

यसैगरी  ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रह्यो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : १४ बजे