सुनको मूल्यमा नयाँ कीर्तिमान

दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने 

काठमाडौँ । विश्व टेबल टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

प्रतियोगिता मङ्सिर २२ देखि २५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजक अखिल नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने छ । भुटान सहभागी नहुने भएको छ । प्रत्येक राष्ट्रबाट ५–५ पुरुष–महिला खेलाडी सहभागी हुने बताइएको छ ।

पुरुष–महिला सिंगल्समा लिग कम नकआउट आधारमा हुनेछ । पुरुष–महिलामा १६–१६ खेलाडी छनोट हुनेछन् । नेपालबाट पुरुषमा रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खानियाँ र शिवसुन्दर गोथेले प्रतिस्पर्धा गर्ने छन् । 

महिलामा नवीता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापा मगरले खेल्ने छन् । खेलाडीलाई मुख्य प्रशिक्षक सन्जिव ढुङ्गेलको नेतृत्वमा सञ्जय अर्याल र सन्ध्या शाक्यले प्रशिक्षण गराइरहनुभएको छ  ।

शङ्कर गौतमले प्रतियोगिता निर्देशक, तेजेन्द्रसिंह महराले कम्पिटिसन म्यानेजर र आयोजक सङ्घका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले व्यवस्थापन समितिको जिम्मेवारी पाउनुभएको छ ।

प्रतियोगितालाई एनसेल एक्सजियटा लिमिटेड, नेपाली घर, ब्रोडलिंक, नेविको लगायतका संस्था प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : ४६ बजे