इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

काठमाडौँ । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

मङ्गलवार राति प्राप्त जितसँगै समूह ‘बीबाट उपविजेताको रूपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो । 

जितपछि अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोड्दै दोस्रो स्थानमा रह्यो । यस समूहबाट इंग्ल्यान्ड विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अङ्क जोडेर शीर्ष स्थान रह्यो । इरान तीन अङ्क र वेल्स एक अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । 

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले खेलको ३८औँ मिनेटमा निर्णायक गोल गरेका थिए । बाँकी समय दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । 

राति नै भएको खेलमा मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस र सफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो । 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : १४ बजे