खुर्काेटमा बेलिबृज जडान सुरु

विवाह पञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

​​​​​महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाह पञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । 

आइतबार मटिहानी पुगेका भारतीय साधु सन्त एक रात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधु सन्त जनकपुर आउने प्राचीन परम्परा हो ।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधु सन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधु सन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर , तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यस क्रममा दिवा र राीत्र भोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरी सम्झनुहुन्छ । 

यो पुरानो परम्परा भने अब हराउँदै गएर केही साधु सन्त पञ्चमीको एक दिन पूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मान्छेको व्यस्तता बढेर पुरानो पुस्ताको अनुसरण हुन छाडेको छ । मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधु सन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर) का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधु सन्त त आज नै सीमा नाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्दै छन् । पछिल्लो कालमा मेला उत्सवको भीडभाडमा असुरक्षाभाव बढ्दै गएर पनि महोत्सवमा उपस्थिति पातलिँदै गएको जलेश्वर–१० सारीकी सामाजिक कार्यकर्ता प्रियङ्का ठाकुर बताउनुहुन्छ ।  

विगत दुई वर्ष (२०७८,२०७७) कोभिड–१९ महाव्याधि सन्त्रासले नेपाल–भारत सीमा नाकामा आवतजावत ठप्प हुँदा भारतीय साधु सन्त महोत्सवका लागि नेपाल आएनन् । यसपालि विवाह पञ्चमी महोत्सवकै बेला यहाँको आमनिर्वाचनको मतगणना कतिपय ठाउँमा जारी नै रहँदा राजनीति सरगर्मीले विवाह पञ्चमी पर्वको चासो कम देखिएको यताका सर्वसाधारणको भनाइ छ ।

जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेता युगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह) का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दु परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषोत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्श नारीका रूपमा पूज्य छन् । 

जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर दर्शन, फूलबारी लीला, धनुष भङ्ग र स्वयंवर, तिलकोत्सव, मटकोर, विवाह र रामकलेवा विधि छन् । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधु सन्तलाई मिष्टान्न भोजन गराई वस्त्र भूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन हो ।

विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घर गाउँले तथा सम्धी सम्धी बीचको हाँस ख्यालठट्टा सहभागीका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने  पाका मैथिलको भनाइ छ । यसका लागि नयाँ पिँढीका मैथिल युवाले अग्रसरता लिनुपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार ७० वर्षीय कामेश्वर झाको सुझाव छ । रासस

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ५४ बजे