खुर्काेटमा बेलिबृज जडान सुरु

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदै छ ।

त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदै छ । 

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्ग भूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्ग भूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्ग भूमिमा लगिन्छ । 

रङ्ग भूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभा यात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्ग भूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँ गाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रङ्ग भूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजा अर्चना गर्ने गर्छन् । 

यस अवसरमा भजन कीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्य रूपमा मनाउने गरिएकामा हाल पाँच दिनसम्म मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यतासमेत छ ।

भगवान् श्रीरामचन्द्रको जन्मभूमि चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्त्व विभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ । अध्ययन प्रतिवेदन प्राप्त भएपछि उत्खननलगायत काम अघि बढाइने भएको छ ।रासस

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : २२ बजे