काठमाडौँ । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।
हालसम्म सबैभन्दा धेरै नेपाली काँग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात सात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरूले जीत हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिवार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।
हालसम्म दोलखा–१, स्याङ्जा–२, सुनसरी–१, ३ र ४, बाजुरा, इलाम–१, उदयपुर–१, महोत्तरी–१ र रामेछापको नतिजा आउन सकेको छैन ।
दोलखा–१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन ।
सुनसरी-१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहनु भएको छ भने उहाँलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहनु भएको छ ।
सुनसरी-३ मा एमालेकी भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेपाली काँग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहनुभएको छ ।
सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने एमालेका जगदीशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
बाजुराको बूढीनन्दा नगरपालिका-५ मा शनिवार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम-१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
उदयपुर-१ मा काँग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने एमालेकी मञ्जु कुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।
महोत्तरी-१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उहाँलाई पछ्याइरहनु भएको छ ।
रामेछापमा काँग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राख्नुभएको छ भने उहाँलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहनुभएको छ । रासस
प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार ८ : ०२ बजे
प्रतिक्रिया