खुर्काेटमा बेलिबृज जडान सुरु

गुल्मी–१: प्रदेशसभामा काँग्रेसका कार्की र एमालेका पाण्डे विजयी

रेसुङ्गा (गुल्मी) । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

प्रतिनिधिसभामा नेपाली काँग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली काँग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो । 

यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो । जसमा काँग्रेसका भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभएको छ । उहाँसँग प्रतिस्पर्धीमा रहेका प्रदीप ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार पाण्डेले आठ सय ६४ को अग्रतासहित १५ हजार एक सय २७ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँसँग सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहनुभएका नेकपा (माओवादी केन्द्र)का सुदर्शन बरालले १४ हजार दुई सय ३६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । 

साथै प्रदेशसभा (२) मा नेपाली काँग्रेसका धनेन्द्र कार्की छ सय पाँच मतको अग्रतासहित १८ हजार पाँच सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धामा रहनुभएका एमालेका फर्सराम  पाण्डेले १७ हजार नौ सय ९१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो । 

यस क्षेत्रमा कूल एक लाख १९ हजार दुई सय ८८ मतदाता थिए । जसमध्ये खसेको मत ६९ हजार सात सय ५९ हो । 

यस क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ देखि १४ सम्मका वडा पर्दछन् । 

योसँगै गुल्मीमा प्रत्यक्षतर्फका दुवै प्रतिनिधिसभा र चार प्रदेशसभाको मतगणना सकिएर अन्तिम परिणामसँगै छ प्रतिनिधि निर्वाचित भएका छन् । यतिबेला समानुपातिक तर्फको मतगणना सुरु भएको छ । रासस

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : १७ बजे