खुर्काेटमा बेलिबृज जडान सुरु

मधेस प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

जनकपुरधाम । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । 

नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली काँग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अगाडि छन् । 

निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा (एमाले) र नेपाली काँग्रेसले सात/सात स्थानमा जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पाँच क्षेत्रमा निर्वाचित भएका छन् । 

अहिलेसम्म कुनै पनि स्थानमा जित निकाल्न नसकेको माओवादी केन्द्रका उम्मेदवार दुई स्थानमा अगाडि छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तीन, स्वतन्त्रले तीन, एकीकृत समाजवादीले दुई र जनमत पार्टीले एक स्थानमा जित निकालेको छ । 

एमालेका सात उम्मेदवार क्रमशः सिराहा क्षेत्र नं १ मा रामसंकर यादव, धनुषा ३ मा जुली महतो (महासेठ), सर्लाही ३ मा हरिप्रसाद उप्रेती, बारा १ मा अच्युतप्रसाद मैनाली, पर्सा ३ मा राजकुमार गुप्ता, सिराहा निर्वाचन क्षेत्र नं ३ मा लिलानाथ श्रेष्ठ र बारा निर्वाचन क्षेत्र नं ३ मा ज्वालाकुमारी साह निर्वाचित हुनुभएको हो । 

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार विभिन्न जिल्लाका सात स्थानमा निर्वाचित भएका छन् भने परिणाम आउन बाँकी एक स्थानमा अगाडि छ । अहिलेसम्म निर्वाचित हुने काँग्रेस उम्मेदवारमा सप्तरी क्षेत्र नं ३ मा दिनेशकुमार यादव, धनुषा क्षेत्र नं २ मा रामकृष्ण यादव, रौतहट ४ मा देवप्रसाद तिमल्सेना, पर्सा २ मा अजय कुमार चौरसिया, पर्सा ४ मा रमेश रिजाल, सप्तरी ४ मा तेजुलाल चौधरी र महोत्तरी ४ मा महेन्द्रकुमार राय हुनुहुन्छ । धनुषा ४ मा सह महामन्त्री महेन्द्र यादव अगाडि हुनुहुन्छ । 

जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार पाँच स्थानमा निर्वाचित भएका छन् भने एक स्थानमा अगाडि छन् । जसपाबाट सप्तरी १ मा नबल किशोर साह, सिराहा ४ मा वीरेन्द्रप्रसाद महतो, पर्सा १ मा प्रदीप यादव, बारा–२ मा रामसहायप्रसाद यादव र सिराहा–२ मा राजकिशोर यादव निर्वाचित हुनुभएको हो । 

धनुषा निर्वाचन क्षेत्र नं १ मा जसपा उम्मेदवार दीपक कार्कीले अग्रता कायम गर्नुभएको छ । यहाँ माओवादी केन्द्रका उपमहासचिव मातृका यादव सुरुदेखि नै पछाडि हुनुहुन्छ । 

माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले अहिलेसम्म जित निकालेका छैनन् तर दुई क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । सर्लाही निर्वाचन क्षेत्र नं २ मा महेन्द्र राय यादव र महोत्तरी निर्वाचन क्षेत्र नं १ मा गिरिराजमणि पोखरेल अगाडि हुनुहुन्छ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार तीन क्षेत्रमा निर्वाचित हुनुभएको छ । महोत्तरी–२ मा शरदसिंह भण्डारी, सर्लाही–१ मा रामप्रकाश चौधरी र महोत्तरी निर्वाचन क्षेत्र नं ३ मा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको हो ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का दुई उम्मेदवार निर्वाचित हुनुभएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नं १ र कृष्णकुमार श्रेष्ठ बारा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको हो । 

जनमत पार्टीले पनि एक स्थानमा जित निकालेको छ । पार्टी अध्यक्ष डा सिके राउत सप्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको छ । त्यसैगरी तीन क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ । 

निर्वाचित हुनेमा सर्लाही निर्वाचन क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट निर्वाचन क्षेत्र नं २ मा किरण कुमार साह र रौतहट निर्वाचन क्षेत्र नं ३ मा प्रभु साह रहनुभएको छ । 

निर्वाचन आयोगको तथ्याङ्कअनुसार मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभातर्फको ३२ सिटका लागि विभिन्न दलका दुई सय ९३ र स्वतन्त्र दुई ९७ गरी पाँच सय ९० उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  रासस

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ४६ बजे