पाँचथरबाट प्रतिनिधिसभामा एमालेका वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित

मिक्लाजुङ । पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित हुनुभएको छ । 

गए राति अबेर सकिएको मत परिणामअनुसार उहाँले नेपाली काँग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गर्नुभएको थियो । 

नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ ।

उहाँ विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिनुभएका उहाँ पछिल्लो पटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत बन्नुभएको थियो ।

प्रदेशसभा (१) गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगू विजयी हुनुभएको छ ।

नेकपा (एमाले) का जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गर्नुभएको छ । 

प्रदेशसभा (२) बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङवो  विजयी भइसक्नुभएको छ । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रो पटक विजयी हुनुभएको हो । 

३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत  प्राप्त भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाउनुभएको थियो । 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ०० बजे