भोजपुरबाट प्रतिनिधिसभामा माओवादीका सुदन किराँती विजयी

टक्सार (भोजपुर) ।  भोजपुरमा प्रदेश नं १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गर्नुभएको हो ।  

किराँती तेस्रो पटक सांसदमा विजयी हुनुभएको हो । उहाँले २८ हजार पाँच सय ७८ मत प्राप्त गर्नुभयो भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो । भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात तथा प्रदेशसभा (२) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिनुभएको थियो ।

भोजपुरमा प्रदेशसभा (१) मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार एवं प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई विजयी हुनुभएको छ ।

उहाँले १६ हजार एक सय १० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर राईले १२ हजार दुई सय २३ मत ल्याउनुभएको छ ।

यस्तै प्रदेशसभा (२) मा नेपाली काँग्रेसका जिल्ला सभापति विनोद वान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी बन्नुभयो । 

उहाँका प्रतिस्पर्धी एमालेका खड्गबहादुर कार्कीले १२ हजार आठ सय ३८ मत मात्र प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

समानुपातिकतर्फको मतगणना शुक्रवारदेखि थालिने मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ८ : ०२ बजे