मकवानपुर-२ मा एमालेका महेश बर्तौला निर्वाचित

बागमती । नेकपा (एस)का नेता विरोध खतिवडा नेकपा (एमाले)का उम्मेदवार महेश बर्तौलासँग पराजित हुनुभएको छ । 

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो । 

बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत प्राप्त गर्नुभयो । 

यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ । २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहनुभएकी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तान विजयी हुनुभएको छ भने २ को ‘२’ मा नेपाली काँग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित हुनुभएको छ ।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ । १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली काङ्ग्रेसकी सह महामन्त्री महालक्ष्मी उपाध्यायले पछि पारिरहनुभएको छ भने राप्रपाका दीपकबहादुर सिंह सँगसँगै हुनुहुन्छ । 

हेटौँडाको मुख्यबजार क्षेत्रको मत गणना बाँकी रहेको छ । यस क्षेत्रका प्रदेशका दुवै सिटको नतिजा भने सार्वजनिक भइसकेको छ ।  क्षेत्र नं १ को प्रदेशसभा १ मा माओवादीका प्रेमबहादुर पुलामी र २ मा एमालेका एकलाल श्रेष्ठ विजयी हुनुभएको छ । 

संविधानसभा सदस्य पुलामी यसअघि पनि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । त्यस्तै एमाले मकवानपुरका अध्यक्ष समेत रहनुभएका एकलाल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुनुहुन्छ  ।  

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : २८ बजे