बालाचतुर्दशी, पशुपतिनाथ मेला

काठमाडौँ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदान पर्व आज मनाइँदै छ ।

यसअन्तर्गत पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरु हुन्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सतबीज छर्छन् । 

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात सोमबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् ।

सोमबार रातभर दीपदान गरी बसेका भक्तजनले मङ्गलवार बिहानै पितृको सम्झनामा सतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

पशुपति क्षेत्रमा सोमबार बिहानैदेखि सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । 

बालाचतुर्दशीको पूर्व सन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् । 

सतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठुलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार सतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने अरू अन्न होइन भन्नुहुन्छ धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम । 

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो । 

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ । 

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए । 

त्यसपछि मानिसको गिदी खाने तथा लामा लामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ । 

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिनुभएको थियो । 

मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको हो । 

माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं सतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । 

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ३८ बजे