इराक, सिरियामा टर्कीले गरेको हवाई आक्रमणमा ३२ कुर्द लडाकु मारिएको इराकको दाबी

बग्दाद – इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानमा रहेको काउन्टर–टेरोरिज्म सर्भिस (सीटीएस) ले आइतबार उत्तरी इराक र सिरियामा भएको हवाई आक्रमणमा ३२ कुर्द लडाकू मारिएको जनाएको छ ।

    सीटीएसले जारी गरेको विज्ञप्तिमा टर्कीश कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) र कुर्दिश पिपुल्स प्रोटेक्सन युनिट (वाईपीजी) को उत्तरी सिरिया र उत्तरी इराकका पहाडी क्षेत्रहरूमा टर्की सेनाले २५ भन्दा बढी हवाई आक्रमण गरेको जनाएको छ ।

    हवाई हमलामा दुई देशका कम्तीमा ३२ आतङ्ककारीको मृत्यु भएको र अन्य थुप्रै घाइते भएको सीटीएसले जनाएको छ । यसअघि, टर्की रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उसको विमानले उत्तरी सिरियामा वाईपीजी समूह र उत्तरी इराकमा प्रतिबन्धित पीकेके विरुद्ध हवाई कारबाही गरेको जनाएको छ । 

    नोभेम्बर १३ मा इस्तानबुलमा भएको घातक हमलामा कम्तीमा छ जनाको ज्यान गएको र ८१ जना घाइते भएपछि टर्कीले यो कारबाही गरेको बताइएको छ ।

    टर्की सेनाले बारम्बार उत्तरी इराकमा, विशेष गरी कान्डिल पर्वतमा, पीकेकेको मुख्य आधारमा भूमिगत अपरेशन, हवाई आक्रमण र तोपखाना बमबारी गर्दे आएको छ । 

    टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ । विद्रोहमा ४० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ४८ बजे