आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले २५ हजार जरिवाना

काठमाडौँ । मङ्सिर ४गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्य रातिबाट मौन अवधि सुरु भएको छ ।

योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । 

सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न पाउने छैनन् ।  मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो ।

मौन अवधिभर दल, तिनका भ्रातृ सङ्गठन, उम्मेदवार, सङ्घ सङ्गठनलगायतले राजनीतिक प्रचार, भेला,गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ ।

बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा, जुलुस र नाराबाजी नगर्न भनेको छ ।  यदि उल्लङ्घन गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५  हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । 

बिहीबार मध्य रातिबाट निर्वाचन प्रचारप्रसार सम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसार सम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने भनिएको छ । यसको अनुगमन प्रेस काउन्सिलले गर्नेछ ।

निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गरिएको छ ।

 

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ७ : १६ बजे