भारत र चीनसँगको सीमा नाका आज मध्य रातिबाट बन्द हुने

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्य रातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ । 

मङ्सिर ४  गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

आज राति १२ बजेदेखि ४ मङ्सिर अर्थात् मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावश्यक अवस्था बाहेकमा आवतजावत बन्द हुनेछ । 

नेपाल र भारतबीच खुला सीमा नाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन् ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : १८ बजे