रविलाई भोलि काठमाडौं ल्याइने

जनताले एमालेले गरेका तमाम कामहरुलाई अनुमोदन गरेर बहुमतको सरकार बनाउन मतदान गर्नुहुनेछ : बालकृष्ण शिवाकोटी

​​​​​​​प्रतिनिधिसभा सदस्यमा तपाईले दोलखाबाट टिकट पाउनु भएको छ । सत्ता गठबन्धनको उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहँदा कत्तिको चुनौती महसुस गर्नुभएको छ ?

पार्टीले कार्यकर्ताको भावना बुझेर निर्णय ग¥यो र मैले प्रतिनिधिसभा सदस्यको टिकट पाएँ । त्यसलगतै उम्मेदवारी दर्ता गराएपछि पहिलो चरणमा आन्तरिक तयारी सकेर अहिले चुनावी प्रचार र मतदाता घरदैलो अभियानमा छु । उम्मेदवारी दर्ता गर्दैगर्दा पार्टीका सिनियर नेताहरुसहित दोलखाली जनताको उत्साजनक सहभागिता रह्यो । यसले दोलखाको चुनावी माहोललाई फरक ढंगले ‘भाइब्रेट’ गराएको छ । विगतका निर्वाचनहरुमा एमालेले जुन मतभारका साथ जित हाँसिल गरेको थियो, त्यही ‘स्पिरिट’का साथ जित हाँसिल गर्ने उत्साह मिलेको छ । एमालेको चुनाव जित्ने अभियानमा सम्पूर्ण नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक उत्साहका साथ होमिनु भएको छ । बिस्तारै दोलखाको चुनावी महोल एमालेमय बन्दै गएको छ । हाम्रो जित सुनिश्चित छ ।

दोलखा एमालेको गढ हो भन्नेमा शंका रहेन । तर अहिले पार्टी फुटेको छ । चुनावी माहोल एमाले अनुकूल देखिदैंन कि ?

बाहिरबाट हेर्दा कतिपयलाई त्यस्तो लाग्न सक्छ । तर यथार्थ त्यस्तो छैन । दोलखा एमालेको गढ थियो, छ र भविष्यमा पनि रहनेछ । जहाँसम्म विभाजनको प्रसंग छ, वास्तवमा पार्टी विभाजन भएको होइन, केही असन्तुष्ट साथीहरु अलग हुनुभएको मात्र हो । पार्टी जीवनमा स्वाभाविक रुपमा यदाकदा यस्ता घटना हुन्छन् । अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन थियो । त्यसबेला चुनावी माहोल जस्तो थियो, त्यसभन्दा पनि यसपटक राम्रो बन्दै गएको छ । जुन उद्देश्यसहित हामीले तत्कालीन अवस्थामा पार्टी एकता गरेर नेकपा बनाएका थियौं, ती उद्देश्य अवश्य पूरा भएका छैनन् । किनभने हामी नेपालको कम्युनिष्ट आन्दोलनको अगुवाई गरिरहेको नेकपा एमालेको नेतृत्वमा मुलुकको कम्युनिष्ट आन्दोलनलाई समाजवादको आधार निर्माण गर्ने दिशामा केन्द्रीत गर्न चाहान्छौं । तर यसको ठीक विपरित कतिपय व्यक्ति र समूहले कम्युनिष्ट पार्टीको मूल उद्देश्य, कार्यनीतिमाथि धब्बा लाग्नेगरी अवसरवादी बाटो अख्तियार गर्नुभएको कुरा साँचो हो । तर, परिवर्तनका लागि माओवादी आन्दोलनमा त्याग तपस्या गर्नुभएका, कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यप्रति प्रतिबद्ध साथीहरुको ठूलो समूह पार्टी एकतालाई निरन्तरता दिँदै एमालेमै हुनुहुन्छ । उहाँहरुमध्ये कतिपय प्रत्यक्ष र समानुपातिकको उम्मेद्वार बन्नुभएको छ । केही समय भ्रममा पर्नुभएका साथीहरु पनि दिनदिनै मूल घर एमालेमै फर्किरहनुभएको विषयमा तपाईंहरु जानकार नै हुनुहुन्छ । त्यसैले हामी विगतभन्दा अझ संगठित र एकताबद्ध छौं, चुनावी माहोल पनि राम्रो बन्दै गएको छ ।

 

तपाईं पार्टी अध्यक्ष केपी शर्मा ओलीको नजिकको मान्छे भएकाले टिकट पाउनुभयो भन्ने चर्चा पनि सुनिन्छ नि ?

मेरो पृष्ठभूमि नबुझेका केहीलाई त्यस्तो लाग्न सक्छ । म एमालेमा २०४० सालदेखि निरन्तर क्रियशिल छु । अनवरतरुपमा काम गरिरहेको छु । म पार्टीको ‘फुलटाईमर’ कार्यकर्ता होइन । तर, झण्डै चालिस वर्षदेखि एमालेको बफादार कार्यकर्ता हुँ । पार्टीको ईलाका कमिटीको सचिव, क्षेत्रीय कमिटी सचिव, १५ वर्ष जिल्ला सचिवालय सदस्यहुँदै वागमती प्रदेश कमिटी सदस्यका रुपमा क्रियाशील छु । पार्टीसम्बद्ध उद्योग व्यबसायी संगठनको केन्द्रीय उपाध्यक्ष र वागमती प्रदेश ईन्चार्जका रुपमा पनि काम गरिरहेको छु । यस सँगसँगै सामाजिक कार्यकर्ता पनि हुँ । यसक्रममा मैले दोलखामा धेरै समाजिक काम गरेको छु । त्यसैका आधारमा पार्टीले मलाई टिकट दिएको हुनसक्छ । यस अघिको निर्वाचनमा पनि टिकटका लागि मैले पार्टीमा पहल गरेको हुँ । त्यसबेला ‘सिनियर’ नेताहरुले टिकट लिनुभयो । मैले त्यसबेला पार्टीलाई सघाएँ । यस्ता ‘कन्ट्रिब्यूसन’ विगतमा मैले धेरै गरेको छु । त्यसैले मेरो पृष्ठभुमि नहेरी नाताका आधारमा वा नजिक भएकै टिकट लियो भन्नु भ्रम मात्रै हो ।

मसँग दोलखालाई समृद्ध बनाउने ‘भिजन’ छन् । बेरोजगार समस्या समाधान गर्ने स्पष्ट योजना छन् । दोलखालाई पर्यटकको ‘हब’ बनाउने सपना छन् । केही काम त मैले यसअघि पनि गरेको छु । जस्तो कालिन्चोकमा फस्टाएको पर्यटनलाइ हेर्न सकिन्छ । त्यहाँ अहिले केबुलकार संचालन भैरहेको छ । यस्कै कारण पनि दैनिक चार हजारको संख्यामा पर्यटक जान्छन् । यस्ता काम शैलुङमा पनि गर्न सकिन्छ । देउढुंगा र बिगू गुम्बा यस्तै सम्भावनाले भरिएको धार्मिक क्षेत्र हो । हामीसँग च्छोरोल्पा ताल छ । गौरीशंकर हिमाल छ । जिरी सगरमाथा प्रवेशको मुख्य द्वार हो । वेदिङ दोलखाको यस्तो गाउँ हो, जहाँका प्रत्येक स्थानीयसँग सगरमाथा आरोहरण गरेको अनुभव छ । यी पक्षलाई ‘ब्राण्डिङ’ गर्न सके सोच्नुहोस् त दोलखाको ‘इकोनोमी’ कहाँ पुग्छ ? दोलखाको पूर्वाधार विकास, कृषि, पयर्टन, जलस्रोत, सडक, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासको नेतृत्व एमालेले गर्दै आएको छ । 

दोलखाली जनतामाझ निर्वाचनमार्फत परीक्षणका लागि जाँदै हुनुहुन्छ । तपाईंको पृष्ठभूमि एक ठाउँमा होला । तर, जनताले त एजेण्डा खोज्लान् । के छन् तपाईका चुनावी एजेण्डा ?

अन्य पार्टीका उम्मेदवार भन्दा म भिन्न हुँ । भिन्न यसकारणले कि, मसँग दोलखालाई समृद्ध बनाउने ‘भिजन’ छन् । बेरोजगार समस्या समाधान गर्ने स्पष्ट योजना छन् । दोलखालाई पर्यटकको ‘हब’ बनाउने सपना छन् । केही काम त मैले यसअघि पनि गरेको छु । जस्तो कालिन्चोकमा फस्टाएको पर्यटनलाइ हेर्न सकिन्छ । त्यहाँ अहिले केबुलकार संचालन भैरहेको छ । यस्कै कारण पनि दैनिक चार हजारको संख्यामा पर्यटक जान्छन् । यस्ता काम शैलुङमा पनि गर्न सकिन्छ । देउढुंगा र बिगू गुम्बा यस्तै सम्भावनाले भरिएको धार्मिक क्षेत्र हो । हामीसँग च्छोरोल्पा ताल छ । गौरीशंकर हिमाल छ । जिरी सगरमाथा प्रवेशको मुख्य द्वार हो । वेदिङ दोलखाको यस्तो गाउँ हो, जहाँका प्रत्येक स्थानीयसँग सगरमाथा आरोहरण गरेको अनुभव छ । यी पक्षलाई ‘ब्राण्डिङ’ गर्न सके सोच्नुहोस् त दोलखाको ‘इकोनोमी’ कहाँ पुग्छ ? दोलखाको पूर्वाधार विकास, कृषि, पयर्टन, जलस्रोत, सडक, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासको नेतृत्व एमालेले गर्दै आएको छ । हामी त्यसलाई अझ व्यबस्थित रुपमा प्रतिबद्धतापत्र लिएर जनताको घरदैलोमा पुग्दैछौं ।

भौतिक पूर्वाधारको समूचित विकासबिना विकसित मुलुक बनेको उदाहरण संसारमा निक्कै कम छन् । यसमा तपाईको मत के छ ?

म राजनीतिक कार्यकर्तासँगै एक सामाजिक कार्यकर्ता हुँ । दोस्रो म उद्यमी–ब्यवसायी पनि हुँ । रोजगारी कसरी सिर्जना हुनसक्छ भन्ने कुरा मैले बुझेको छु । मैले धेरैलाई क्षमता अनुसारको काम दिएको छु । हुन त यी मेरा व्यक्तिगत विषय भए । म अहिले पार्टीको उम्मेदवार हुँ । मैले अब फरक ढंगले सोच्नु पर्छ । जस्तो खरिढुंगाको जीर्ण उद्योगलाई पुनः सञ्चालनमा ल्याउन सकिन्छ । यसो गरिँदा स्थानीय स्रोत परिचालन हुने मात्रै होइन । धेरैका लागि रोजगारी सिर्जना हुन सक्छ । तामाकोशी तेस्रो जलविद्युत आयोजना दोलखाको अर्को ‘ड्रिम प्रोजेक्ट’ हो । यसले दोलखाको मात्रै होइन, मुलुककै अर्थतन्त्रलाई नयाँ ढंगले चलायमान गर्न सक्छ । लामाबगर–फलाक सडक खुल्न सके यसले दुुई ठूला अर्थतन्त्र रहेको चीन र भारतलाई एकै ठाउँ ल्याउन सक्छ । यसले केबल दोलखा मात्र होइन, सिंगो मुलुकलाई समृद्ध बनाउन सक्छ । यसका योजना मसँग छन् ।

तर, तपाईले यसो भनिरहँदा देशमा त एमालेको स्थिति कमजोर हुने हो कि भन्ने विश्लेषण पनि भइरहेका छन् नि ?

यी सत प्रतिशत गलत हुन् । यसअघि एमाले सरकारका पालामा भएका काम जगजाहेरै छ । काठमाडौं–तराई दु्रतमार्ग एमालेकै पालामा अघि बढ्यो । नागढुंगा सुरुङ मार्ग एमालेकै पहलमा बन्दैछ । बर्षौदेखि अलपत्र जनकपुर–जयनगर रेल एमालेले नै सञ्चालनमा ल्यायो । भुकम्पमा ध्वस्त धरहरा मात्र होइन, बसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र हेरौं । एमालेकै पालामा निर्माण भए । रानीपोखरी निर्माणमा कति ठूलो अवरोध थियो । एमालेले अग्रसरता नलिएको भए, त्यो अझैसम्म अलपत्र हुन्थ्यो । तीस बर्षदेखि संसद् भवन निर्माण अलपत्र थियो । अहिले भटाभट निर्माण भइरहेको छ । त्यसको सुरुवात पनि एमालेकै पालामा भएको हो ।

राष्ट्रियताका सवालमा हेरौं । ६० बर्षअघि गुमेको कालापानी, लिपूलेक र लिम्पियाधुरा चुच्चे नक्सामार्फत एमाले सरकारको पालामा समेटियो । चीनसँग नाका खोल्ने बिषय हुन् वा नाकाबन्दीका बेला एमाले सरकारले लिएको अडान नै । यी तथ्यहरुलाई जनताले बिर्सेका छैनन् । त्यसो हुँदा एमालेसँग नीति छ, स्पष्ट कार्यदिशा छन् । यस्लाइ कार्यान्वय गर्ने योजना छन् । यसर्थ एमाले कमजोर भएको होइन, झन बलियो भएको छ । जनताले मंसिर ४ को निर्वाचनबाट एमालेले गरेका तमाम यी कामहरुलाई अनुमोदन गरेर बहुमतको सरकार बनाउन मतदान गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

यसको अर्थ एमालेको स्थिति बिग्रिएको छैन ?

तपाईंले सतप्रतिशत सही कुरा भन्नुभयो । एमालेले मुलुकभर नै जीत हासिल गर्नेछ । बहुमतका साथ एमालेको नेतृत्वमा सरकार पनि बन्नेछ । यथार्थ यही हो ।

एमालेको नेतृत्वमा बहुमतको सरकार बन्छ भनिरहँदा गठबन्धन त ठूलो तयारीका साथ चुनावमा होमिएको छ नि ?

चुनावमा हार्छु भनेर त को जान्छ र ? यो त सहजै बुझिने बिषय होइन ? तपाईले भने झै गठबन्धनले चुनाव त जित्छु भनेको छ । तर आधारहरु के हुन् ? तपाईले थाहा पाउनुभएको छ ? गठबन्धन दल सरकारमा छ । चुनावमा पनि उनीहरुको गठबन्धन कायम नै छ । प्रतिपक्षसँग डराएर सरकारपक्षीय दल गठबन्धन गरेर चुनावमा गएको उदाहरण संसारमा कहीँ छ ? तर, नेपालमा भयो । अब बुझ्नुहोस् एमाले कमजोर कि बलियो शक्ति हो । त्यसो हुँदा एमालेको स्थिति एकदम मजबुत छ । एमालेको जित सुनिश्चित छ ।

जिरीको प्रसंग यहाँले माथि पनि उठाउनु भयो । यहाँले भने झै जिरी कुनै बेला सगरमाथा प्रवेश गर्ने मुख्य ढोका थियो । तर, अहिले त्यो सुनसान देखिन्छ । अन्य क्षेत्रको अवस्था पनि त्यो भन्दा फरक छैन र यसलाई त तपाई स्वीकार गर्नुहुन्छ नि ?

म यसलाई स्वीकार्न तयार छैन । जिरी प्राकृतिक रुपमा एकदम सुन्दर ठाँउ हो । यो नेपालकै मुख्य पयर्टकीयस्थलका रुपमा परिचित छ । तपाईंले भने झैं यो कुनै बेला सगरमाथाको प्रवेशद्वार थियो । तर, यहाँ जुनस्तरका सौन्दर्यता छन् ,त्यसअनुसार विकास नभएको भने साँचो हो । यसको अर्थ जिरीमा विकास निर्माण हुँदै नभएका होइनन् ।

विश्वमाझ जिरीको महिमा विश्वस्तरसम्म पुगेको छ । यहाँ प्राविधिक शिक्षालय छ । क्षेत्रीयस्तरको अस्पताल छ । सडक कालोपत्रे बनेका छन् । योजनावद्ध ढंगले सहरी बिकास गरिएका छन् । अब मानव निर्मित ताल बनाउने योजना छ । यी सबै हाम्रै अग्रज एमाले नेताको अथक पहलमा भएका हुन् । विकास निर्माणका काम यतिमै सकिने भन्ने होइन । जिरीलाई योभन्दा अझ उच्चस्तरमा विकास गर्न सकिन्छ । पर्यटकको ‘हव’ बनाउन सकिन्छ । यसका सम्भावना जिरीमा प्रचुर छन् ।

साँस्कृतिक पक्षबाट समेत जिरी बलियो छ । जिरेल जातिको उद्गम जिरी हो । उनीहरुका संस्कृति संरक्षण गर्न सके यो नेपालकै लागि नमुना बन्न सक्छ । यी लगायत धेरै सम्भावना छ जिरीमा । यसलाई नयाँ ढंगले विकास गर्न आवश्यक छ । यसको जिम्मेवारी हाम्रो काँधमा छ । त्यस्तै, यहाँको पयर्टन प्रवद्र्धनका लागि जिर्ण अबस्थामा रहेको विमानस्थललाई छिटोभन्दा छिटो संचालनमा ल्याउनका लागि मेरो मुख्य जोड रहनेछ । यो काम हामी पूरा गर्छौं ।

अब दोलखाको समग्र विकासतर्फ जाउँ । समृद्ध नेपाल : सुखी नेपाली एमालेको मुल नारा हो । तपाईँ निर्वाचित हुँदा दोलखाले कसरी लाभ लिन सक्छ ?

संविधानले समाजको आधार तयार गरेको छ । राजनीतिक अधिकारसँग जोडिएका मुद्दा सकिएका छन् । बाँकी भनेको समृद्धि हो । यसका लागि विकास आवश्यक छ । विकास गर्न नीति चाहिन्छ । नीति कार्यन्वयन गर्न भिजन चाहिने भयो । त्यो एमालेसँग छ ।

एमाले त्यो पार्टी हो, जसले लामाबगर नाका खोल्न चिनसँग सम्झौता गर्न सक्यो । त्यसलगतै एमालेबाट निर्वाचित सांसदकै अगुवाईमा सडक खोल्ने काम अघि बढेको छ । उक्त नाकालाई भारतसँग जोड्न तामाकोशी करिडोर बन्न आवश्यक छ । यसको ‘ड्रइङ डिजाइन’ मात्र होइन, निर्माणका कितपय काम समेत अघि बढेका छन् । तामाकोशी करिडोर निर्माणपछि दोलखा चीन–भारत जोड्ने गतिशिल पुल बन्न सक्छ । यसले दोलखालाई समृद्ध त बनाउँछ नै, सिंगो मुलुकको अर्थतन्त्रलाई कायापलट गर्न सक्छ ।

त्यस्तै, दोलखालाई बाह्य र आन्तरिक पयर्टनको आकर्षक गन्तव्यस्थल बनाउने, चलचित्र नगरीको कामलाई पूर्णता दिने, मुडे–बाघखोर सडक कालोपत्रेलाई छिटो पूर्णता दिने कामलाई प्राथमिकता दिइनेछ । मुडे–बाघखोर सडक कालोपत्रेपछि शैलुङको पयर्टन विकासलाई नयाँ उचाईमा पु¥याउन सकिन्छ । त्यस्तै, दोलखाको चक्रपथ सडकलाई पूर्ण रुपमा कालोपत्रे बनाउने, सिन्धुपाल्चोकको कर्थलीदेखि अपरतामाकोशी–सिंगटी जोड्ने सडक कालोपत्रे गर्ने, शैलुङ, कालिञ्चोक, च्छोरोल्पालाई पयर्टन विकासको हब बनाउने, कृषि उत्पादनमार्फत रोजगारी अभिवृद्धि गर्नेलगायतको काम अगाडि बढाइनेछ । स्थानीय तहहरुसँगको समन्वयमा यी तमाम कम गर्दा दोलखाको आर्थिक विकासलाई नयाँ उचाईमा लैजानेछ भन्नेमा म विश्वस्त छु ।

दोलखामा एमालेको संगठन बलियो छ । यसमा शंका भएन । तर, अहिले राजनीतिक समिकरण फरक छ । यो पृष्ठभुमिमा तपाई चुनावमा जाँदै हुनुहुन्छ । स्वतन्त्र उम्मेद्वारका चुनौती अर्कातिर छन् । एमालेको बिगतका बिरासत जोगाउन सकिनेमा तपाई कतिको विश्वस्त हुनुन्छ ?

म पूर्ण विश्वस्त छु । केही राजनीतिक गतिविधि प्रतिकूल ढंगले विकास नभएका होइनन् । स्वतन्त्रहरुको अहिले बाढी छ । स्थानीय तह निर्वाचनका मत परिणाम हेर्दा केही सिटमा जीत पनि भएका छन् । तर, यी अपवाद मात्रै हुन् । यसले एमालेको जीतमा कुनै फरक पार्दैन ।

निर्वाचन महंगो बन्दै गएको बिषयमा तपाईको मत के छ ?

खर्च गर्नेहरुका लागि निर्वाचन महंगो नै भएको होला । तर, हामी नीति र नियममा चल्ने मान्छे हौं । खर्चका सम्वन्धमा निर्वाचन आयोगले सीमा तोकिदिएको छ र आचारसंहिताभित्र रहेर खर्च गर्ने हो ।

चुनाव लड्ने शैली आ–आफ्नै हुन्छ । खर्च कति गर्ने भन्ने बिषय त्यसमा पनि निर्भर होला । एमाले ठूलो पार्टी हो । यसको संगठन बलियो मात्रै छैन, जरासम्म फैलिएको छ । त्यसो हुँदा चुनावमा धेरै खर्च गर्नु पर्छ भन्ने मलाई लाग्दैन ।

समृद्ध दोलखा निर्माणका लागि यहाँले तमाम योजना अघि ल्याउनु भएको छ । तपाईले निर्वाचन पनि जित्नुहोला । अहिले प्रस्तुत भएका योजना हेरेर पाँच बर्षपछि तपाईंका मतदाताले प्रश्न गरे तपाई जवाफ दिन तयार हुनुहुन्छ ?

विल्कुल तयार छु । लेखेर राख्दा हुन्छ । मेरा योजना फगत चुनावी नारा मात्रै होइनन् । यी मेरा प्रतिवद्धता हुन् । मैले असम्भव कुनै एजेण्डा उठाएको छैन । यसका आधार छन् । त्यसोहुँदा पाँच बर्षपछि जनतासामु उभिएर मेरा एजेण्डका सन्दर्भमा फेस गर्न सक्छु । यो मेरा प्रतिवद्धता हो । यसमा म ‘कन्फिडेन्ट’ छु ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ५८ बजे