रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु

वार्सा । पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएका बताएको छ । क्षेप्यास्त्र खसेसँगै रुस–पोल्याण्डबीच आरोपप्रत्यारोप पनि शुरु भएको छ । 

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्य पोल्याण्डमाथि नियतवश आफ्नो भूमिमा आक्रमण भएको वार्साले आरोप लगाएको छ भने मस्कोले त्यसको खण्डन गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमर जेलेन्स्कीले घटनाको निन्दा गर्नुभएको छ । इण्डोनेसियाको बालीमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर नाटोको आपत्कालीन बैठक भएको छ । बैठकमा राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोेन डेयर उपस्थित हुनुहुन्थ्यो ।  उन्नत अर्थतन्त्र भएका प्रमुख विकसित देश अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, जापान, बेलाइत र इटाली सम्मिलित अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन  जी सेवेनको बैठक पनि भएको छ । 

इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा पनि उक्त घटनाबारे विश्वनेताले चिन्ता व्यक्त गरेका छन् ।  प्रारम्भिक विवरणअनुसार रुसको नियोजित आक्रमण हो वा होइन भन्नेबारेमा पोल्याण्डले अनुसन्धान थालेको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले क्षेप्यास्त्र रुसबाट प्रहार नभएको हुनसक्ने बताउनुभएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : २३ बजे