जुम्लाका आठवटै स्थानीय तहमा नमुना मतदान

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तहमा मतदाता शिक्षाका लागि नमुना मतदान कार्यक्रम  गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरेर नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी अविनन्द चौलागाईले बताउनुभयो ।

जिल्लाका आठवटै स्थानीय तहको सबै बडामा मतदातालाई मतदान गर्ने तरिका, बदर मत घटाउनका लागि नमुना मतदान गरिएको उहाँको भनाइ थियो

चन्दननाथ नगरपालिकामा गरिएकोे नमुना मतदानमा १०४मतमध्ये १३ मत बदर भएको थियो भने सिञ्जा गाउँपालिकामा ३६ जनाले मतदान गरेकामा आठ मत बदर भएको थियो । कनकासुन्दरीमा ४८ जनाले मतदान गरेकामा १२ मत बदर,   पातारासीमा ३८ जनाले मतदान दिएकामा  १४ मत बदर भएको थियो । 

त्यस्तै हिमा गाउँपालिकामा ४२ जनाले गरेको १२ मत बदर, तातोपानीमा ५९ जनाले मतदान गरेकामा नौ मत बदर, तिलामा ७२ जनाले मतदान गरेकामा १८ मत बदर र गुठीचौर गाउँपालिकामा ७२ जनाले मतदान गरेकामा १२ मत बदर भएको थियो ।

नमुना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ । जिल्लाका सबै वडामा मतदाता शिक्षा सञ्चालन भएको र नमुना मतदानबाट पनि मतदानका विषयमा जानकारी हुने निर्वाचन कार्यालयका प्रमुख महेश शर्र्माले जानकारी दिनुभयो ।

जिल्लाभर कूल एक सय छ मतदान केन्द्र, ८३ वटा मतदानस्थल र दुई अस्थायी मतदानस्थल कायम गरिएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार सात सय ८३ र प्रदेशसभा (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ३ : ४५ बजे