निर्वाचन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जाने बढे, असोजमा मात्र ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाडौँ । देशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको सङ्ख्या बढ्दै गएको छ । 

मङ्सिर ४ गते देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर बिदेसिएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला छन्। 

वैदेशिक रोजगारीमा जाने मध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन् । असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

यस्तै, युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

आर्थिक वर्ष २०७९/८० सुरु भएपछि वैदेशिक रोजगारीमा जान साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : २१ बजे