नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल सिंगो बागमती प्रदेशमै पार्टीका उम्मेदवार जिताउने अभियानमा जुटनु भएको छ । अभियानलाई सार्थक बनाउन उहाँले गृह जिल्ला दोलखासहित वागमतिको समेत चुनावी कमाण्ड सम्हालिरहनु भएको छ । चुनावको मिति नजिकिँदै जाँदा भने उहाँ आफ्नै गृहजिल्लामा मतदाता भेटघाट र चुनावी सभामा व्यस्त हुनुहुन्छ । एमालेको लालकिल्ला दोलखामा पछिल्लो स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन सकेन । सत्ता गठबन्धनसँग एक्लै लडेको एमालेले जित्ने आँकलन गरेको पालिकासमेत गुमाउनु प¥यो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेबिरुद्ध पाँच दलीय गठबन्धन बनेको छ । कस्तो छ त समग्र चुनाव परिचालन ? के एमालेले दोलखामा विरासत कायम राख्छ त ? जस्ता प्रश्नमा केन्द्रित रहेर पूर्वमन्त्री पोखरेलसँग कुराकानी गरिएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
० मतदानको दिन नजिकियो, दोलखामा सत्तारुढ गठबन्धनसँगको चुनावी प्रतिस्पर्धा त चुनौतिपूर्ण होला नि ?
विपरित राजनीतिक आस्था बोक्ने माओवादी र कांग्रेसले मिलेर नेकपा एमालेलाई हराउनै पर्छ भन्ने मान्यताका साथ अभियान संचालन गर्ने प्रयत्न गरेका छन् तर उनीहरुका बीचमा व्यबहारमा तालमेल देखिदैंन । दुवै दलका उम्मेद्वार र नेताहरु संगै हिँडेर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कतै पनि भोट मागेको मैले देखेको छैन । आफ्ना–आफ्ना ढंगले चलेको देखिन्छ । यो चुनावमा मतपत्र हेर्दा नेपाली कांग्रेसले आफ्नो चिन्ह नपाउने र समाजवादीले पनि आफ्नो चिन्ह नपाउने हुँदा साँच्चै भन्दा प्रतिनिधिसभामा आमनेसामनेको प्रतिस्पर्धा भनेको नेकपा एमाले र माओवादी केन्द्रबीचको जस्तो मात्र देखिन्छ । नेपाली कांग्रेसभित्र लोकतन्त्रप्रति प्रतिबद्ध साथीहरु हुनुहुन्छ । हिजोका दिनमा लगातार पञ्चायतबिरोधी आन्दोलनदेखि संघीय लोकतन्त्रलाई व्यवस्थित गर्दासम्म उहाँहरुसँग हामी संगै हिँडेका हौं । त्यसकारण दोलखाको सन्दर्भमा नेपाली कांग्रेसले पनि नेकपा एमालेलाई व्यापक रुपमा समर्थन गर्ने र भोट दिने स्थिति छ । दोलखामा वास्तवमा जनस्तरमा गठबन्धन नै छैन र असर पनि छैन ।
० यहाँ आफै पनि लामो संसदीय राजनीतिको भूमिकामा रहनुभयो । खासगरी नेकपा एमालेमाथि लामो समयसम्म जिल्लाको नेतृत्व गर्ने अवसर प्राप्त गरेपनि खासै काम गर्न नसकेको गम्भीर आरोप विपक्षीहरुले लगाउने गरेका छन्, यसप्रति तपाईंको के प्रतिक्रिया छ ?
नेकपा एमाले भनेको निरकुंश पञ्चायती व्यवस्थालाई तत्कालीन माले पार्टीको नाममा जिल्लामा संघर्ष गरेर पञ्चायत अन्त्यका लागि अग्रणी भूमिका निर्वाह गर्ने पार्टी हो । २०४६ पछिका जनआन्दोलन परिचालनमा नेपाली कांग्रेस दोलखा सहयोगीको रुपमा मात्र थियो भने नेकपा एमाले राजनीतिक अगुवा थियो ।
जतिबेला २०४८ सालमा निर्वाचन भयो, त्यसपछिको विकासलाई विश्लेषण गर्ने हो भने दोलखामा जतिपनि सडक सञ्जालसहित भौतिक पूर्वाधारको विकास भएको छ, ती सबै विकासको एकल हकदार नेकपा एमाले मात्र हो । उसैको नेतृत्वमा जिल्लाको समग्र विकास अगाडि बढ्दै आएको छ ।
कुनैबेला जलविद्युत विकासको कुरा जिल्लामा कतिपयलाई सपना जस्तै लाग्थ्यो । हामीले स्वदेशी पुँजीमा माथिल्लो तामाकोशी आयोजना बन्नुपर्छ भनेर लबिङ्ग गर्दा कतिपय वित्तीय एकाधिकार पुँजिवादका पक्षपोषक राजीनीतिक दलहरुले सरकार र विद्युत प्राधिकरण मिलेर बनाउन सक्छ भन्ने कुरा नै पत्याउदैनथे, कतिपय बेला उनीहरु हामीलाई खिसिटिउरी गर्नसमेत पछि पर्दैनथे । यसका लागि मेरै संयोजकत्वमा सबै सरोकारवालाहरु राखेर तामाकोशी सरोकार समिति बनाएर राष्ट्रिय अभियानको माहोल बनायौं । संसदमा नेपाली कांग्रेसका अर्थमन्त्रीले नेकपा एमालेका सांसदहरुलाई अपमान गरिरहेको बेला मैले स्वदेशी लगानीमा माथिल्लो तामाकोशी नबने र सरकारले यसको नेतृत्व नलिए आत्मदाह गर्छु भन्ने घोषणा गरे । यो दबाबबाट आयोजनाका लागि बजेटको घोषणा भएपछि पनि विद्युत प्राधिकरणसँग सम्झौता गरेर २६ करोड बजेट र सात करोड रुपैँया बजेट लिएर बाटो सडक बनाउने काम मेरै नेतृत्वमा सम्पन्न भएको हो । त्यसैले पहिलो चोटी जनतालाई शेयर दिने कुरालाई नीतिगत रुपमा निर्णय गर्ने र स्वदेशी पुँजीमा आयोजना बनाउने कामको नेतृत्व नेकपा एमालेले गरेको हो । त्यसैको प्रकाशभित्र अहिले थुप्रै सानाठूला नीजि क्षेत्रका आयोजनाको विकास भएको छ । आगामी दिनमा अझै हुने सम्भावना छ ।
त्यस्तै, २०४८ सालमा एउटा प्रमाणपत्र पढाइ हुने क्यापस थियो गौरीशंकर क्याम्पस । अहिले स्नात्तकोत्तर सम्मको बहुमूखी क्याम्पस भएको छ । जिल्लाभित्र ११ वटा उच्च शिक्षाका क्याम्पस, ३० वटा उच्च माध्यमिक विद्यालय, १० वटा प्राविधिक शिक्षालय, ७० भन्दा बढी नयाँ माध्यमिक विद्यालय र १५० भन्दा बढी आधारभूत विद्यालयहरू स्थापना भएका छन् । अहिले दोलखाको साक्षरता प्रतिशत ९८ प्रतिशत पुगेको छ । यसको विस्तार र स्तरोन्नतिमा नेकपा एमालेकै नेतृत्वले विशेष पहलकदमी लिएको तथ्य जगजाहेरै छ । सामाजिक सुरक्षा, पर्यटन क्षेत्रको विकास, सांस्कृतिक क्षेत्रको विकास लगायतका पूर्वाधार निर्माणका कुराहरु हाम्रै नेतृत्वमा भएको हो । ०७२ सालको भूकम्पपछि जिल्लाभित्र बनेका करिब ८० वटा आधुनिक र भव्य विद्यालय भवनहरूमा विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला, २ दर्जन जिल्लास्तरीय सरकारी भवनहरू, ६० भन्दा बढी वडा कार्यालयहरू, स्वास्थ्य चौकी भवनहरू, सुरक्षा निकायका भवनहरू र सामुदायिक भवनहरू निर्माण भएका छन् । अरु राजनीतिक दलका निर्वाचित प्रतिनिधिहरुले सहयोगी भूमिका निर्वाह गरेपनि दोलखाको नयाँ भिजन र विकासको नेतृत्व नेकपा एमालेले गरेको हो । त्यसकारण विकासको उपलब्धि होस् वा कमीको पनि हामी भागेदार हौं । जे काम अझै पुरा भएका छैनन्, त्यसका लागि नेकपा एमाले दोलखाले प्रतिवद्धता पत्र जारी गरेको छ । ती जारी गरेका प्रतिवद्धतालाई पुरा गर्ने हिम्मत पनि नेकपा एमालेले मात्र गर्न सक्छ । जनताले उठाएका गुनासालाइ म सकारात्मक रुपमा लिन चाहन्छु । धन्यवाद दिन चाहन्छु । अब बाँकी रहेका कुराहरु पुरा गर्न पनि दोलखाली जनताले मंसिर ४ गते सूयमा भोट दिएर जिताउनुपर्छ ।
० यहाँहरुले घोषणापत्रमा उल्लेख गरेका विकास र परिवर्तनका उपलब्धिहरु एमाले एक्लैले गरेको होइन भनेर विपक्षीहरुले प्रश्न उठाइरहेका छन् नि ?
यसको प्रश्न र उत्तर खोज्नेहरुमै विरोधाभास छ । मैले भने नि, अरु राजनीतिक दलहरुको पनि कँहि न कँहि आंशिक सहयोगी भूमिका होला तर दोलखा जिल्लाको उपलब्धिको नेतृत्व नेकपा एमालेले मात्र गरेको भन्ने तथ्य जनस्तरमै स्थापित छ । यति हुँदाहुँदै पनि उहाँहरुले भ्रम फैलाउन खोज्नुको कुनै औचित्य छैन ।
० मंसिर ४ गतेको निर्वाचनमा दोलखामा नेकपा एमालेले नै जित्छ भन्ने आधारहरु दिनसक्नुहुन्छ ?
दोलखाली जनताको जति पनि घरघर पुगेको छु, उहाँहरुले भौतिक विकास र यातायातको विकासका विषयमा प्रश्न गर्नुभएको छ । अहिले ३ सय किलोमिटरभन्दा बढी पक्की सडक बनेको छ । २ हजार किलोमिटरभन्दा बढी कच्ची सडक निर्माण गरेको छौं । जिल्लाका ७४ वडामध्ये ७० भन्दा बढी वडा कार्यालयहरूबाट कम्तिमा टाढाबाट ३ घण्टा र नजिकबाट बढिमा १ घण्टाको यात्रामा सदरमुकाम आइपुग्न सक्नेगरि पूर्वाधारको विकास गरेका छौं । त्यसलाई कालोपत्रे गर्नुपर्ने कुरा जनताले उठाउनुभएको छ । हामीले जनताका ती माग समेटेर प्रतिवद्धता पत्र अगाडि सारेका छौं ।
अर्को कुरा, जनताको सपना तामाकोशी तेस्रो जलविद्युत आयोजना हो । यसका लागि सुरुमा १२०० मेगावाटको डिपिआर बनाउने काम भयो । अध्ययनका क्रममा ६ सय ५० मेगावट क्षमताको विजुली उत्पादन हुने देखियो । तर तत्कालीन जलश्रोत मन्त्री जनार्दन शर्माले ६ सय ५० मेगावाट क्षमातालाई ३ सय मेगावाटको हाराहारीमा झारेर एसियन पावरको नाममा भएको लाइसेन्स खारेज गरि भवन भट्ट भन्ने व्यक्तिको नाममा दिने निर्णय गर्नुभो । उहाँले तामाकोशीको उत्पादन क्षमतालाई अवमूल्यन गर्नुभयो तर भवन भट्टले आयोजना संचालनको काम नै सुरु गरेनन् । यसरी तामाकोशी तेस्रो जलविद्युत आयोजना बन्न नदिने अहिले जुन ढंगको षड्यन्त्र गरेर दोलखाली जनतालाई ठग्ने काम हुँदैछ, यसलाई आम मतदाताले बुझ्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । कमिशनको खेलमा क्षमता घटाउने र दोलखाली जनतालाई ठग्ने काममा प्रत्यक्ष रुपमा नेकपा माओवादी केन्द्रको हात रहेको छ । यद्यपि, माथिल्लो तामाकोशी आयोजनाकै मोडलमा तामाकोशी तेस्रो आयोजना समयमै सुरु गर्ने कामको अगुवाई एमालेले गर्नेछ भन्ने कुराप्रति म दोलखाली जनतालाई आश्वस्त पार्न चाहान्छु । हामीले यो आयोजनालाई पनि ५ वर्षभित्र संचालनको प्रक्रियामा अघि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरेका छौं ।
जलविद्युतको विकास गरेर तामाकोशीले के दियो भन्ने प्रश्न पनि कतिको छ । तामाकोशीले झन्डै ६० करोडको वार्षिक रोयल्टी गौरीशंकर र विगु गाँउपालिकालाई दिन्छ । खिम्ति जलविद्युत आयोजनाले ६ करोड रोयल्टी तामाकोशी गाँउपालिकालाई दिन्छ । साथै दोलखा जिल्लामा हामीले गरेको कामको प्रतिफलस्वरुप बढि भएका विजुली नेपालबाट भारतलाई बेचेर वैदेशिक मुद्रा भित्रिने अबस्था बनेको छ । यसले अवश्य पनि नेपाल–भारतबीचको व्यापार घाटा कम गर्न सहयोग पुगेको छ । यस आयोजनाकै कारण चीनसँग जोडिने नेपालको उत्तरी सीमामा पनि पूर्वाधार विकास अगाडि बढेको छ । आयोजनाले दोलखाका उत्तरी क्षेत्रको जीवनस्तरमा व्यापक परिवर्तन गरेको छ । यो हाम्रो ठूलो उपलब्धि हो ।
० आयोजनाको दीर्घकालीन फाईदा पनि छ कि ?
किन नहुनु । राष्ट्रिय रुपमा अझ फाइदा छ । एक महिना अघिको तथ्यांक भन्ने हो भने १७ अर्ब बराबरको बिजुली भारतमा व्यापार गरेको छ । यसले व्यापार घाटा कम गराएको छ । शेयरको कुरा गर्दा अब जनाताको क्षमता अनुसार हामीले २५ प्रतिशतभन्दा बढि प्रभावित क्षेत्रका जनतालाई बिजुलीमा लगानी गर्ने अवसर दिनुपर्छ भन्ने नयाँ मान्यता बनाएका छौं । जिल्लालाई वागमती प्रदेशकै पयर्टन गन्तव्यका रुपमा विकास गर्नेगरी दोलखाको पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि सारेका छौं । जिरीको मानव निर्मित ताल, फिल्म सिटी, कालिन्चोकलाई प्रवद्र्धन गर्ने विषयहरु प्राथमिकतामा छन् । त्यस्तै, दोलखामा १२ जनजातिहरु छन् । दोलखामा रहेका लोपोन्मुख, अल्पसंख्यक, सम्पूर्ण जनजाति तथा जातिहरूको मौलिक संस्कृति तथा इतिहासको जर्गेना गर्न जातीय संस्कृतिलाई जोडेर सांस्कृतिक राष्ट्रवादको अवधारणासहित अघि बढ्नुपर्ने आजको आवश्यकता छ । पौराणिक र सांस्कृतिक इतिहास बोकेको हाम्रो जिल्ला धार्मिक र सांस्कृतिक पर्यटनका लागि उद्गम स्थल हो ।
प्राकृतिक रुपमा च्छोरोल्पा, शैलुङ्ख, गौरीशंकरजस्ता ठाँउहरु छन् । यी ठाँउहरुको विकासको सम्भावनाले समृद्धिको आधार तयार हुन्छन्, जसले आन्तरिक रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना रहन्छ । विदेशबाट फर्किएर आएका दोलखालीहरुलाइ कर्जासहितको उद्यमशीलताको विकास र एउटा वडामा कम्तिमा १५ जनालाई सीपमूलक तालिमको व्यवस्था गर्ने हामीले सोच बनाएका छौं । दोलखाली जनता र सिंगो नेपालले नै नेकपा एमाले मात्रै विकास र समृद्धिको भिजन भएको पार्टी भएको बुझेका छन् । त्यसकारण पनि जनताले हामीलाइ भोट दिने भन्नुभएको छ ।
अहिले विदेशीहरुको चलखेल र साँठगाँठ बढेको छ । गठबन्धनहरुले कम्फर्टेबलको सरकार बनाएर नेपालको राष्ट्रियतामाथी सौदावाजी गर्ने काम गरेको छ । त्यसका विरुद्धमा नेकपा एमाले उभिएको छ । त्यसकारण गठबन्धनले निम्त्याएको हस्तक्षेपलाई पराजित गर्ने प्रतिवद्धताका साथ हामी अघि आएका छौं । स्वाभाविक रुपमा नेकपा एमालेको पक्षमा नेपाली जनता छन् ।
० अन्त्यमा, निर्वाचनलाई फर्केर हेर्दा, दोलखामा अशान्त हुने घटनाहरु भएका छन्, बुथ कब्जा भएका छन् । यो पटकको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यहाँहरुको योजना के छ ?
गठबन्धनका राजनीतिक दलहरुलाई दोलखामा मात्र होइन देशभर जनताले मत दिएर जित्छु भन्ने लागेको छैन । उनीहरुको व्यक्त–अव्यक्त कुरा के हो भने हामीसँग सत्ता छ, गठबन्धन छ, हामी राज्य शक्ति प्रयोग गछौं, सुरक्षा निकाय, कर्मचारी परिचालन गर्छौं र लुटेर जित्छौं । केही उम्मेदवारले अहिले त्यहि कुरा प्रचार गरेर पनि हिँडेका छन् । २०५१ सालमा चुनाव लड्दा नेपालका सम्मानित नेता भीमबहादुर तामाङ्ख मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यतिबेला ६ ठाँउ मतदान केन्द्र कब्जा गरेर आफैँ बसेको झुलेमा पनि १७ सय ४ मतमा पनि १७ सय १ मत हालेर मलाई पराजित गरेको हो । यो बुथ कब्जा गर्ने र बुथ लुट्ने काम त्यतिबेला देखि नै नेपाली कांग्रेसले गर्दै आएको छ । त्यस्तै, २०६४ मा नेकपा माओवादीले पनि बुथ कब्जा गरेको छ । यस्तो लुट संस्कृतिप्रति म घोर आपत्ति जनाउँछु । वास्तबमा कांग्रेस र माओवादी केन्द्रको त्यस्ता गलत कामले दोलखा जिल्ला राष्ट्रमै बदनाम भएको छ । म राजनीतिक दलहरुलाई जनताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछु ।
हामीले निर्वाचन आयोगको आचासंहिता जस्ताको तस्तै पालना गरेका छौं, रक्षा पनि गरेका छौं । दलहरुलाई पालनाका लागि आह्वान पनि गरेका छौं । तर बुथ लुटेर, प्रोक्सी मत खसालेर जित्ने सपना उहाँहरुले देख्नुभएको छ भने नेकपा एमालेको अहिले तागत सुषुप्त बस्दैन । हामी त्यो मान्यता पनि राख्दैनौं । तर उहाँहरुले अशान्तिकै बिउ रोप्नुहुन्छ भने हामी जस्ताको तस्तै प्रतिवाद गर्छाैं । म राजनीतिक दल र गठबन्धनलाई के आग्रह गर्छु भने, त्यो तहसम्म परिस्थिति नपु¥याउनुस् । प्रजातन्त्रको सुन्दर पक्षको रक्षा गरौं, अतिरिक्त क्रियाकलापहरुबाट पछि हटौं भन्ने आह्वान गर्न पनि चाहन्छु । यसलाइ नेकपा एमालेको कमजोरी पनि नठानियोस् । यदि उहाँहरु त्यस्तै ढंगले आउनुभयो भने हामी टिट फर ट्याटको बाध्यताबाट जानुपर्ने अबस्था आउनसक्छ । तर त्यस्तो परिस्थिति आउनेछैन भन्ने मेरो विश्वास छ ।
प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार ४ : ०७ बजे
प्रतिक्रिया