पेरिस विमानस्थलमा १८ वर्षदेखि बसेका इरानीको मृत्यु

पेरिस । पेरिसको विमानस्थलमा १८ वर्षदेखि बसेका एक इरानी नागरिकको मृत्यु भएको छ । कूटनीतिक रूपमा फसेका मेहरान करीमी नासेरीले सन् १९८८ मा रोइसी चार्ल्स डे गौले एयरपोर्टको सानो क्षेत्रलाई आफ्नो घर सम्झे । सन् १९४५ मा इरानी प्रान्त खुजेस्तानमा जन्मिएका उनी आमाको खोजीमा युरोप उडेका थिए । आप्रावासनसम्बन्धी सही कागजात नभएको भन्दै उनलाई बेलायत, नेदरल्यान्ड्, जर्मनीबाट निकाला गरेपछि उनी केही वर्ष बेल्जियममा बिताए । 

त्यसपछि उनी फ्रान्स पुगे जहाँ उनले विमानस्थलको २ एफ टर्मिनललाई घर सम्झे । उनको अनुभवले टम ह्यान्क्स अभिनित सन् २००४ को फिल्म द टर्मिनललाई प्रेरित गर्‍यो ।

नासेरीलाई अन्ततः फ्रान्समा बस्ने अधिकार दिइएको थियो । तर, उनी केही हप्ताअघि विमानस्थलमा फर्किए, जहाँ उनको प्राकृतिक कारणले मृत्यु भएको विमानस्थलका एक अधिकारीले बताए ।
 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ३ : १४ बजे