काभ्रेमा एमालेको पक्षमा देखियो जनलहर

बनेपा । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा काभ्रेपलान्चोकमा एमालेको पक्षमा व्यापक जनलहर आएको छ । 

काभ्रेपलाञ्चोक जिल्लाको दुई वटै निर्वाचन क्षेत्रमा एमालेले गरेको कार्यक्रममा अहिले व्यापक जनसहभागिता देखिएको छ । 

एमाले काभ्रे निर्वाचन क्षेत्र नं.२ निर्वाचन परिचालन कमिटीले मण्डनदेउपुर, धुलिखेल, पाँचखाल, बनेपा, पनौती, भुम्लु र बेथानचोकमा र क्षेत्र नं १ ले खानीखोला, महाभारत, रोशी, नमोबुद्ध, पनौती, धुलिखेल, चौरीदेउराली, तेमालमा गरिएका घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनउत्साह र जनसहभागिता देखिएको हो ।

नेकपा (एमाले)का पोलिटव्युरो सदस्य, पूर्व मन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार गोकुल बाँस्कोटा, पूर्व मन्त्री रेशम लामा तथा प्रदेश भाका सदस्य उम्मेदवार दिलिप लामा, पूर्व मन्त्री चन्द्र लामा, कुमार थापा र कुमार खकुरेललाई स्थानीयवासीले स्वागत गर्दै घरदैलो कार्यक्रममा सहभागिता जनाएका छन् ।

सयौँको सङ्ख्यामा रहेको घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्नो घरको अगाडि स्वागत गरेका थिए । सयौँको सङ्ख्यामा स्थानीयवासीले एमाले उम्मेदवारको स्वागत गर्दै माला, खादा तथा अवीर लगाई स्वागत गरे र अग्रिम विजयको शुभकामना व्यक्त गरे ।  स्थानीयवासीको उत्साहलाई हेर्दा घरदैलो कार्यक्रम विजय उत्सव जस्तै बनेको थियो । 

स्वागत गर्नेमा एमालेका आस्थावान मात्र नभई गठबन्धन दलका सक्रिय कार्यकर्ता समेत रहेका थिए । उनीहरूले काभ्रेको  विकास र समृद्धिको लागि एमालेका उम्मेदवारको  विकल्प नभएकाले पार्टीभन्दा माथि उठी काभ्रेको विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई विजयको शुभकामनासहित ठाउँ–ठाउँमा स्वागत गरेका छन् । 

सो क्रममा उनीहरूले प्रतिनिधिसभा सदस्यका उम्मेदवार बाँस्कोटा र लामाको नेतृत्वमा भएका विकासका कार्यहरूलाई नारा लगाई भव्य रूपमा स्वागत गरेका थिए ।

स्वागतलाई ग्रहण गर्दै एमाले उम्मेदवारले जनताको स्वागत र आशीर्वादले विजयी निश्चित रूपमा हुने उल्लेख गर्दै जनताको चाहना शतप्रतिशत पूरा हुने विश्वास दिलाउनुभयो ।

जनताको एक मतबाट आफूहरूले पाँच वर्ष जनताको सेवा गर्ने उल्लेख गर्दै छ जनाले नै काभ्रे विकास र समृद्धिको ठुलो जिम्मेवारी आफूहरूको काँधमा आउने र त्यसलाई सहर्ष स्वीकार गर्दै पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । 

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : ४८ बजे