समृद्ध काभ्रेपलाञ्चोकको सपना एमाले नेतृत्वबाट मात्र सम्भव 

​​​​​​​बनेपा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरू घर–घर पुग्ने क्रम तीव्र भएको छ । 

निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवार र राजनीतिक दलले प्रचार प्रसारलाई तीव्र बनाएका हुन् । यस क्रममा काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका नेकपा (एमाले)का उम्मेदवारहरू पनि मतदाताको घरदैलोमा पुग्न व्यस्त छन् । ​​​​​​​

‘काभ्रेपलाञ्चोक जिल्लाको विकासका संवाहक बन्नुभएका गोकुलप्रसाद बाँस्कोटाले विगत पाँच वर्षको कार्यकालमा यो छवि बनाउनुभएको छ।

“पार्टीभन्दा पनि जिल्लाको विकासका लागि आवश्यक व्यक्ति संसद्मा पठाउनु जिल्लावासीको दायित्व हो”, पाँचखाल घर भएका मतदाता चन्द्रकुमारी शिवभक्तिले भन्नुभयो– “पाँचखालमा विश्वविद्यालय र जिल्लाका अन्य स्थानमा पूर्व मन्त्री बाँस्कोटाले सुरु गरेका आयोजनाको पूर्णता आवश्यक छ ।”

चन्द्रकुमारी शिवभक्ति जस्तै जिल्लाका थुप्रै मतदाताहरूले काभ्रे जिल्लाको समृद्धिका लागि बास्कोटालाई मतदान गर्नुपर्ने बताउँछन् ।

  नेकपा (एमाले)ले सुरु गरेका आयोजनाहरूको पूर्णता तथा स्थिर सरकार र विकासको गतिका लागि काभ्रे निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभामा रेशम लामा, प्रदेशसभामा दिलिप तामाङ र चन्द्र लामा, र निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभामा गोकुल बास्कोटा, प्रदेश सभामा कुमार खकुरेल र कुमार थापालाई उम्मेदवार बनाएको छ । 

एमालेबाट उम्मेदवार बन्नुभकाहरू मध्ये बास्कोटा र चन्द्र लामाले यस अघि निर्वाचित भई जिल्लाको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भने रेशम लामा समानुपातिक सूचीबाट राज्यमन्त्री हुनुभएको थियो । दिलिप तामाङ, कुमार खकुरेल र कुमार थापा नयाँ अनुहार हुनुहुन्छ ।

उहाँहरू सबै जना मतदाताको घरदैलोमा पुगेर आफ्नो प्रतिबद्धता व्यक्त गरिरहनु भएको छ । जिल्लामा ६४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनले सबल, समृद्ध, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको पूर्वाधारयुक्त जिल्ला निर्माण गर्ने योजना पास गरेको थियो । एमालेको धुलिखेलमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयनसँगै जिल्ला निर्माणमा खाका तयार गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनुभयो । एमाले काभ्रेले यही खाका र उम्मेदवार लिएर मतदाताको घरदैलोमा पुगेको छ । 

“समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मूर्तरूप प्रदान गर्न विगतमा गरेको पहलकदमीहरूलाई निरन्तरता दिँदै आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकासका लागि योजना निर्माण गरेका छौंं”, एमाले अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–“यसअघि छैटौँ जिल्ला अधिवेशनले पास गरेका योजनाहरूलाई हामी सत्तामा पुग्दा कार्यान्वयन गरेका छौँ जसका कारण काभ्रेमा अर्बौँ बजेट तिनै योजनाहरूमा विनियोजन भएको छ ।”

जिल्लामा आगामी ५ वर्षभित्र १ हजार किमी सडक कालोपत्रे गर्ने, काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रको रूपमा विकास गर्ने, बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने, भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिकाभित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्ने, नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाव्य करिडोर क्षेत्रमा व्यवस्थित पूर्वाधारसहितको बस्ती व्यवस्थापन गर्ने, डाँडापारी, कोशीपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरूको सडक र पूर्वाधारको विकास गर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरूको सर्भे गरी निर्माण गर्न, जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजना बनाएको छ । 

त्यस्तै, एक पालिका एक विशिष्टीकृत विकासका लागि प्राथमिकतामा राख्ने योजना अनुसार हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका बनाउने, पाँचखाललाई कृषि तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक व्यावसायिक केन्द्र, पनौतीलाई सांस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन, शिक्षा, स्वास्थ्य र सांस्कृतिक केन्द्र, नमोबद्धलाई धार्मिक सांस्कृतिक पर्यटन र औद्योगिक केन्द्र, मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भुम्लुलाई पर्यटन र कृषि केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषि अनुसन्धान केन्द्र, तेमाललाई सांस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन सांस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडीबुटी र फलफूल उत्पादन तथा पशुपालन केन्द्र, खानी खोलालाई जडीबुटी, कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिक स्रोत अध्ययन तथा पशुपालन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकृति तथा सम्पदा संरक्षण र पर्यटनतर्फ पलाञ्चोक भगवती मन्दिरलाई अझै व्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरूको आकर्षणको रूपमा विकास गर्ने, पनौती नगरपालिकाको पुरानो बजारलाई विश्व सम्पदा सूचीमा राखिने तयारीलाई तदारुकताका साथ अगाडि बढाउने, नमोबुद्धमा बृहत पर्यटकीय क्षेत्रका लागि आवश्यक संरचना निर्माण गर्ने, तेमालको ऐतिहासिक दरबार उत्खनन र संरक्षण गरी आवश्यक पूर्वाधार निर्माण गर्ने, बेथान्चोक नारायणस्थानमा आवश्यक पूर्वाधारको निर्माण गरी पर्यटन केन्द्र निर्माण गर्ने, रोशी गाउँपालिकाको भुमेचुली, ताराखसेलेक लगायतका स्थानहरूको संरक्षण र प्रचारप्रसार गर्ने, पनौती नगरपालिकाको कुशादेवीस्थित गुर्दुमडाँडाबाट सुरु भएको प्याराग्लाईडिङ्गको विकास र संरक्षण गर्ने, बनेपाको बासुकी, तनचोक, ठुलीचौर लगायतका स्थानहरूको संरक्षण र प्रचार प्रसार गर्ने, मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने नगरकोट, ठुलीचौर लगायतका स्थानमा थप  पूर्वाधार निर्माणसहित संरक्षण र आवश्यक प्रचार प्रचार गर्ने, भुम्लुको दोलालघाट, मुलखर्क, भीमसेन स्थान लगायतका स्थानको प्रचार प्रसार गर्ने योजना एमालेको छ । 

त्यस्तै धुलिखेलको देवीस्थान लगायतका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलहरूको संरक्षणसहित पूर्वाधार निर्माण गर्ने, श्रीरामपाटी क्षेत्रको उत्खनन गरी संरक्षण गर्ने, अन्य सबै पालिकाहरूमा रहेका धार्मिक क्षेत्रहरूको प्रचार प्रसार, संरक्षण र प्रवर्द्धन गर्ने, हरेक पालिकामा कम्तीमा एक होमस्टे, एक पर्यटकीय गन्तव्य निर्माण गर्ने, नमोबुद्ध–३ र धुलिखेलमा खुला चिडियाखाना स्थापना गर्ने, भुमेडाँडामा चरा अध्ययन केन्द्र स्थापना गर्ने, सिमसार क्षेत्रको संरक्षणका लागि योजना बनाउने, परम्परागत पोखरी, बरपिपल चौतारीहरूको संरक्षण गर्ने र वाटर रिचार्जका लागि डाँडाहरूमा पोखरी निर्माण गर्ने एमालेको योजना छ ।

कृषि पशुपालनतर्फ सहस्राब्दी विकास लक्ष्य अनुसार हरेक नागरिकको आय स्तर उकास्न हरेक पालिकामा वातावरण अनुकूल फलफूल उत्पादनमा प्रोत्साहन गर्ने, एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषि उत्पादन केन्द्रको अवधारणालाई अघि बढाउने, चौबास क्षेत्र र वाल्टिङ्गमा बोटानिकल गार्डेनसहितको चिया उत्पादन बगंैचा निर्माण गर्ने, बनेपा र धुलिखेलमा बोटानिकल गार्डेन निर्माण गर्ने, व्यावसायिक पशुपालन र व्यावसायिक तरकारी खेतीमा जोड दिने, जिल्लामा एम्बुलेन्ससहितको सुविधा सम्पन्न पशु अस्पताल निर्माण गर्ने, कृषि तथा पशुजन्य उपजको गुणस्तर जाँच केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । 

विश्वविद्यालय तथा शैक्षिक क्षेत्रतर्फ एमालेले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्ने, प्रतिरक्षा विश्वविद्यालय निर्माणको कार्यलाई तीव्रता दिने, काभ्रे जिल्लामा त्रिविको आङ्गीक कलेज स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्ने, हरेक विद्यालयमा विज्ञान, गणित र आइटी पठनपाठनलाई व्यवस्थित गर्ने, खगोल शास्त्र अध्ययन केन्द्र निर्माण गर्ने योजना बनाएको छ ।

अन्य पूर्वाधारतर्फ फिल्म सिटी स्टुडियो निर्माण कार्यलाई तीव्रता प्रदान गर्ने, माउण्टेन स्पोर्टस एकेडेमीको निर्माण गर्ने, हरेक नगर तथा पालिकाहरूमा नमुना र व्यवस्थित सहर निर्माण गर्ने, हरेक पालिकामा एक खेल मैदान निर्माण गर्ने, जिल्लामा क्रिकेट खेल मैदान निर्माण गर्ने, सम्भावित नदीहरूमा विद्युत् गृह स्थापना गर्ने, पर्यटनलाई जोड दिने, सम्भावना अध्ययन गरी जलविहार स्थल निर्माण गर्ने, पुरातात्त्विक तथा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने, एक पालिका एक कला र साहित्य केन्द्र स्थापना गर्ने, दिगो विकासको लक्ष्य हासिल गरी काभ्रेलाई सन् २०३० भित्र गरिबी उन्मूलन गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका पूर्वाधारहरूका माध्यमबाट सबल र समृद्ध काभ्रे बनाउने प्रस्ताव एमालेले गरेको छ । 

एक पालिका एउटा ठुलो पर्यटकीय, धार्मिक र सांस्कृतिक पार्क निर्माण गर्ने, प्रत्येक पालिकामा महिला, युवा, दलित र गरिब परिषद्हरू गठन गरी स्वरोजगारीको काम गर्ने र गरिबी निवारण गर्ने, एक पालिका एक अत्याधुनिक व्यायामशाला, योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्ने, एक पालिका एक अनाथालय स्थापना गर्ने, जिल्लाका सबै बस्तीहरूमा एक घर एक स्वच्छ खानेपानीको धाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सबै बस्तीमा इन्टरनेट सेवा पुर्‍याउने, सिङ्गो काभ्रे जिल्लाको भौगर्भिक अध्ययन गर्ने (प्राकृतिक स्रोत, विपद् अवस्था, कृषि उत्पादन, बस्ती विकास आदि), ह्याण्डी ड्राफ्ट उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने, जिल्लाको माइक्रो इकोनोमिक्स स्टाटस अनुसन्धान गर्ने, रासायनिक मलको भण्डारण क्षमता बृद्धि गर्ने, जिल्लामा रहेका सबै प्रमुख नदी जलाधार क्षेत्रको संरक्षणको योजना बनाउने, जिल्लाका प्रमुख सहरहरूमा शहरी सौन्दर्यीकरण परियोजना लागु गर्ने, कम्पोष्ट मल उत्पादन र पानी शुद्धीकरण सहितको एकीकृत फोहोर मैला व्यवस्थापन आयोजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : ४३ बजे