सुनको मूल्यमा नयाँ कीर्तिमान

यु-१९ महिला विश्वकप नेपाल र बङ्गलादेशले संयुक्त आयोजना गर्ने

काठमाडौँ । दक्षिण एसियाली मुलुक नेपाल र बङ्गलादेशले सन् २०२७ को आइसिसी महिला यु–१९ विश्वकप संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले आइतबार विभिन्न उमेर समूहको विश्वकप आयोजना गर्ने राष्ट्र निर्धारण गरेको हो । 

नेपाल र बङ्गलादेशले संयुक्त रूपमा यु–१९ महिला विश्वकप आयोजना गर्न स्वीकृत पाएका छन् । बङ्गलादेश आयोजक हुनेछ भने नेपाल सहआयोजक हुने क्यानले जनाएको छ । 

नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलो पटक विश्वकप आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आयोजनाको लागि ठुलो लबिइङ गरेको बताउनुभयो । “एकदम गौरवको विषय हो । यो चार वर्ष पछि आयोजना हुने हो । एकदमै ठुलो ‘लबिइङ’का बीच आयोजना गर्न पाएका हौँ”,चन्दले भन्नुभयो । 

आइसिसीले नेपाललाई प्रतियोगिता आयोजना गर्न कम्तीमा पाँच मैदान आवश्यक पर्ने बताएको छ । जसमध्ये दुई मैदानमा खेल हुनेछन् । मैदान र खेल स्थल टुङ्गो लाग्न बाँकी छ । क्यानले काठमाडौँको त्रिवि खेल मैदान र मूल पानीसहित पोखरा मैदान, निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय मैदान र भैरहवा मैदानको नाम आइसिसीलाई बुझाएको छ । 

यसैगरी, सन् २०२५ को यु–१९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्दा सन् २०२४ को यु–१९ पुरुषको आयोजना श्रीलङ्का, सन् २०२६ को जिम्बाव्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । 

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ११ : ४९ बजे