चुनावी सुरक्षाको सूक्ष्म विश्लेषण गर्न प्रहरीलाई प्रमुख निर्वाचन आयुक्तको निर्देशन

चितवन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत तथा जवानलाई आग्रह गर्नुभएको छ ।

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरीलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जना गर्न निर्देशन दिनुभयो । 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ ।निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन चनाखो भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिइएको स्पष्ट गर्दै उहाँले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन आग्रह गर्नुभयो।

“मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्त्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्नुस् । केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर ढुक्कले मतदानमा सहभागी हुन सकिन्छ भन्ने सन्देश आम मतदातालाई सुरक्षाको प्रत्याभूति गराउनुस्”, उहाँले भन्नुभयो, “मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा (कुदृष्टि) लगाएमा, सम्झनुस्, त्यो तपार्ईँका विरुद्धको कुदृष्टि हो, त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस् ।”

 

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : २२ बजे