सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाललाई यू–१५ महिला साफको उपाधि

काठमाडौं । नेपालले बंगलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।

खेलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । बंगलादेशकी बीबी रिताले पेनाल्टीमा गोल गर्न चुमिन् । नेपालकी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् । त्यसपछि थप गोल हुन सकेन ।

यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल भयो । बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ४२ बजे